अख्तियारको कार्यबाहक प्रमुख आयुक्तमा बस्न्यात
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त दीप बस्न्यात आयोगको कार्यबाहक प्रमुख आयुक्त बनेका छन् ।
प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध व्यवस्थापिका संसद्मा महाभियोगका प्रस्ताव दर्ता भएकाले बस्न्यात कार्यबाहक बनेका हुन । आयोगका सहप्रवक्ता खगेन्द्रप्रसाद रिजालले आयोगको नियमावलीमा प्रमुख आयुक्तको अनुपस्थितिमा उपस्थित आयुक्तमध्ये वरिष्ठ आयुक्तले कार्यबाहक प्रमुख हुने व्यवस्थाबमोजिम सो निर्णय भएको बताए । आयोगमा हाल पाँच आयुक्त छन् ।
नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का १५७ सांसदले ३ कात्तिकमा महाभियोगको प्रस्ताव दर्ता गरेका थिए । सो प्रस्ताव ७ कात्तिक बिहान ११ बजेको संसद् बैठकमा पेस गरिने भएको छ ।
नेपालको संविधानको धारा १०१ को उपधारा ६ मा “संवैधानिक निकायका प्रमुख वा पदाधिकारीले महाभियोग कारबाही प्रारम्भ भएपछि टुङ्गो नलागेसम्म आफ्नो पदको कार्य सम्पादन गर्न पाउने छैन ” भन्ने व्यवस्था छ ।
महाभियोगको प्रस्तावलाई संसद्मा तत्काल कायम रहेका सदस्य सङ्ख्याको दुई तिहाइले पारित गर्नुपर्ने हुन्छ ।
यसैबीच, नेकपा (मसाल)को खुल्ला सङ्गठन राष्ट्रिय जनमोर्चाले महाभियोगका प्रस्तावको पक्षमा मतदान गर्ने भएको छ । मसालका महामन्त्री मोहनविक्रम सिंहले ४ कात्तिकमा विज्ञप्ति प्रकाशन गरी आफूले कार्कीको नियुक्तिमै असहमति जनाएको उल्लेख गरेका छन् ।