खेल मिलेमतो आरोपमा इटालियन खेलाडीलाई २ वर्ष प्रतिबन्ध
रोम (एजेन्सी)– पार्माका स्ट्राइकर इमानुएल कालाओ खेल मिलेमतोको आरोपमा दुई वर्ष प्रतिबन्धमा परेका छन्। उनलाई २० हजार युरोबाट पनि जरिवाना गरिएको छ।
इटालीको संघीय अदालतले मे १८ मा स्पेजियाविरूद्ध खेल कालाओले मिलेमतो गराएको ठहर गर्दै दुई वर्ष फुटबल खेल्न रोक लगाएको हो। यो घटनामा पार्मा क्लबको आगामी २०१८–१९ सिजनको अंक तालिकाबाट पाँच अंक घटनाउने निर्णय भएको छ। क्लब ‘ए’ डिभिजनमै रहने बताइएको छ।
३६ वर्षीय कालाओ सन् २०१६ मा स्पेजियाबाटै स्थानान्तरण भएर पार्मा क्लबमा आवद्ध भएका थिए। पार्मालाई इटालीको शीर्ष क्लबमा पदोन्नती गर्न कालाओले स्पेजियाका पूर्व खेलाडीसँग मिलेमतोको ‘वाट्स एप’ मा कुरा गरेको तथ्य भेटिएपछि अदालत यो फैसला सुनाएको हो।
पार्माले २–० ले स्पेजियालाई पराजित गरेको खेल अगाडि कालाओले आफ्नो पूर्व क्लबका साथी फिलिपो डे कोल र क्लाडियो टेर्जीसँग ‘वाट्स एप’ मार्फत कुरा गरेका थिए।
यो विषयमा गत जुनदेखि छानवीन भइरहेको थियो। पार्मा क्लब सन् २०१५ मा कंगालीको अवस्थामा पुगेपछि ‘डी’ डिभिजनमा खुम्चिएको थियो। लगत्तै यो क्लब तीन वर्षभित्र ‘ए’ डिभिजनमा बढुवा भएको हो। गत वर्ष स्पेजियालाई पराजित गरेपछि ‘बी’ डिभिजनको दोस्रो स्थानमा रहँदै पार्मा फेरि ‘ए’ डिभिजनमा उक्लिएको थियो। कालाओले इटालीको युथ–२१ टिममा रहेर अन्तर्राष्ट्रिय फुटबल खेलिसकेका छन्।