क्रिकेटमा अर्को उत्कृष्ट ह्याट्रिक (भिडियोसहित)
लन्डन (एजेन्सी)– विश्व क्रिकेटका तीन स्टार ब्याट्सम्यान जो रुट, केन विलियम्सन र जोनी बेयरस्ट्रोले टेस्ट क्रिकेटमा मिलेर १४ हजार ६ सय ३९ रन बनाइसकेका छन्। रोचक कुरा, यी तीन ब्याट्सम्यानलाई आइतबार लङ्कासायरका जोर्डन क्लार्कले लगातार तीन बलमा आउट गर्दै ह्याट्रिक गरेका छन्। क्लार्कको यो ह्याट्रिकलाई विश्व क्रिकेटको उत्कृष्ट ह्याट्रिकसँग दाँजिएको छ।
योर्कसायरबाट काउन्टी खेल्ने रुट, विलियम्सन र बेयरस्ट्रोलाई लङ्कासायरका अलराउन्डर क्लर्कले लगातार तीन बलमा सिकार बनाएपछि ओल्ड ट्राफोडमा अर्को कीर्तिमान बनेको छ। सन् १९३३ मा जर्ज म्याकउलीले ओल्ड ट्राफोडमा ह्याट्रिय गरेका थिए। त्यसयता ८५ वर्षमा दोस्रो पल्ट ओल्ड ट्राफोडमा ह्याट्रिक भएको हो।
क्लार्क इङ्लिस काउन्टीमा ह्याट्रिक गर्ने लङ्कासायरका दोस्रो बलर पनि भएका छन्। ५० वर्षअघि १९६८ मा केन हिग्सले यो कीर्तिमान बनाएका थिए।
क्लार्कले पहिलो विकेट इङ्लिस टेस्ट कप्तान रुटको लिएका थिए। यसपछि विलियम्सनलाई दोस्रो सिकार बनाए। दुबैलाई उनले एलबिडब्लुको धरापमा पारेका थिए। बेयरस्ट्रलाई तेस्रो सिकारको रूपमा थर्ड स्लिपमा क्याच गराए। लङ्कासायरको सिमरको उत्कृष्ट बलिङका कारण योर्कसायरले ५९ रनमा ४ विकेट गुमाएको थियो।
रुट २२ रनमा आउट भए। विलियम्सन र बेयरस्ट्रो ‘गोल्डेन डक’ भए। आउट भएका तीन जनै ब्याट्सम्यान आइसिसीको वरियतामा उत्कृष्ट १६ भित्र पर्छन। क्लार्कले लिएको यो ह्याट्रिकको विषयमा चर्चा चल्नुको अर्को कारण आउट भएका तीन ब्याट्सम्यानले ३ हजारभन्दा बढी टेस्ट रन बनाइसकेका छन्।
‘पहिलो विकेट लिदा म खुसी थिए। तर जब ह्याट्रिक भयो, म चन्द्रमामा उडिरहेको थिए’, २७ वर्षीय अलराउन्डरले भने।