हिमाल प्रभावः मलेसियाको संसद्मा नेपाली कामदारमाथि भइरहेको ठगीबारे छलफल
नेपाली कामदारबाट अनधिकृत रकम उठाएर मलेसिया लैजाने काममा मलेसियाका अधिकारी समेत संलग्न भएको विषयमा मलेसियाको संसद्मा छलफल भएको छ ।
यही विषयमा मलेसियाको संसद्मा आज भएको छलफलमा सांसद् एवं पूर्व गृहमन्त्री डाटुक सेरी अहमद जाहिद हमिदीले यस प्रकरणमा आफू संलग्न नभएको बताएका छन् ।
छलफलमा भाग लिंदै मलेसियाको सत्तासिन डेमोक्रेटिक एक्सन पार्टीकी सांसद् कस्तुरी पाट्टोले मलेसिया आउने कामदारबाट अतिरिक्त रकम असुल्नेहरुको अनुसन्धान थाल्नुपर्ने बताएकी छन् ।
उनले अनुसन्धानमा गृहमन्त्रालयले अग्रसरता देखाउनुपर्ने र अनुसन्धानको शुरुआत अध्यागमन विभागबाट हुनुपर्ने भनाइ राखिन् ।
यस्तै पाँच अर्ब असुलमा संलग्न देखिएको मलेसियाको कम्पनी बेस्टिनेट एसडिएन बिएचडीले समाचार सत्य नभएको दावी गरेको छ ।
बेस्टिनेटमार्फत नेपालबाट मलेसिया जाने कामदारको बायोमेट्रिक, माइग्राम्स र आईएस्सी हुने गरेको छ ।
मलेसियाका सञ्चारमाध्यमलाई दिएको प्रतिक्रियामा बेस्टिनेटले आफूले बायोमेट्रिक बाहेकको काम नगर्ने दावी गरेको छ ।
नेपाल सरकारले थप अनुसन्धान गर्दै
यता मलेसिया जाने कामदारबाट अनधिकृत रकम असुलेको विषयमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले थप अनुसन्धान अगाडि बढाउने निर्णय गरेको छ ।
६ साउनमा मन्त्रालयले मुलुकभर जम्मा ३९ स्वास्थ्य संस्थामार्फत मात्रै भइरहेको स्वास्थ्य परीक्षण खारेज गरी मन्त्रालयमा सूचिकृत भएका सबै संस्थाले परीक्षण गर्न पाउने निर्णय गरेको छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि कामदारबाट अतिरिक्त रकम उठाउने कम्पनी तथा व्यक्तिमाथि अनुसन्धान गरिरहेको जनाइएको छ ।
कामदारमाथि ठगी भएको भन्दै हाल मन्त्रालयले रोजगारीका लागि मलेसिया जाने अनुमति नै रोकेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कामदारबाट अतिरिक्त रकम उठाउने प्रक्रिया खारेज भएपछि मात्र कामदार पठाउने जनाएको छ ।