नेपालगञ्जमा १७ करोड बढी लागतमा नेपाली सेनाको अस्पताल निर्माण
नेपालगञ्ज– स्थानीय राँझास्थित नेपाली सेनाको चार बाहिनी ब्यारेकको हातामा सैनिक अस्पताल निर्माण गरिएको छ।
नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्रीले सैनिक अस्पतालको सोमबार उद्घाटन गरे। सेनाको कल्याणकारी कोष र नेपाल सरकारको लगानीमा १७ करोड २० लाखमा १६ महिनाको अवधिमा दुई तलाको ३० कोठे अस्पताल भवन निर्माण भएको हो। कूल १४ रोपनी आठ आना क्षेत्रफल रहेको अस्पतालको भवन ३० हजार ४ सय ९० वर्ग फिटमा निर्माण भएको जनाइएको छ।
पचास श्ययाको अस्पतालमा स्त्रीरोग, बालरोग, फिजियोथेरापी, दन्त, सामान्य चिकित्सा, शल्यक्रियालगायत विशेषज्ञ सेवा उपलब्ध हुनेछ। अस्पतालले आकस्मिक कक्ष सबैका लागि र बहिरङ्ग र अन्य सेवा भने सैनिक र तिनका परिवारका लागि उपलब्ध गराइने जनाएको छ।
अस्पताल निर्माणले प्रदेश नं ५, ७ र कर्णाली प्रदेशका सैनिक र तिनका परिवारको स्वास्थ्योपचारमा सहज पहुँच हुने बताइएको छ। काठमाडौँ बाहिर नेपाली सेनाको यो नै पहिलो अस्पताल हो। यही ढाँचाको अस्पताल इटहरी र पोखरामा निर्माणाधीन छ।
इटहरीमा अस्पतालको निर्माण अन्तिम चरणमा रहेको र पोखराको ६० प्रतिशत काम सम्पन्न भएको छ। धनगढीको बोराडाँगीमा पनि २५ श्ययाको अस्पताल निर्माणको योजना निर्माण भइरहेको जनाइएको छ।
अस्पतालमा सबैखाले बहिरङ्ग सेवाका साथै रेडियोलोजी, अल्ट्रासाउण्ड, एक्सरे, इण्डोस्कोपी, सघन उपचार कक्ष, सिसियु सेवा पनि उपलब्ध रहेको अस्पतालका कमाण्डिङ अफिसर प्रमुख सेनानी डा नरेन्द्र बास्कोटाले बताए।
प्रधान सेनापति क्षत्रीलाई अस्पतालका कमाण्डिङ अफिसर प्रमुख सेनानी डा बाँस्कोटाले सेवा प्रवाह, चिकित्सक र स्वास्थ्यकर्मीको व्यवस्थालगायत विषयमा जानकारी गराएका थिए।
रासस