टिप्पणीसोमवार, श्रावण ७, २०७५

प्रदेश–३ को मुकाम बनेपा वा चित्लाङ !

हिमालखबर

बद्रीप्रसाद खतिवडा

प्रदेश–३ को नाम माझखण्ड, मध्यखण्ड, माझभूमि, माझप्रदेश र मध्यमाञ्चल, मध्याञ्चल, देवस्थली वा वागमती जे राख्दा पनि हुन्छ तर स्थायी मुकाम धेरैलाई पायक पर्ने ठाउँमा हुनुपर्छ ।

नेपालको संविधान अनुसार तत‍्‌तत् प्रदेशका कम्तीमा दुईतिहाइ सभासदहरूको समर्थनबाट मात्र प्रदेशको नाम र सदरमुकाम निधो गर्न सक्ने व्यवस्था छ । प्रदेश गठनपछि अहिलेसम्म प्रदेश–६ र ४ ले मात्र आफ्नो प्रदेशको नाम कर्णाली र गण्डकी राखेको छ भने मुकाम सुर्खेत र पोखरा तोकेको छ । प्रदेश गठनको महीनौंसम्म बाँकी पाँचवटा प्रदेश अलमलमा छन् ।

प्रदेश–३ को नाम र मुकामका लागि केही छलफल र मनन् गर्नुपर्ने देखिन्छ । कर्णप्रिय नामसँगै सकभर भूगोल र संस्कृति पनि झल्कन सक्यो भने बेस हुनेछ । एक–दुई हप्ताको समय दिएर यसबारे प्रदेशवासीबाट पनि राय मागियो भने निर्णय गर्न थप सघाउ पुग्नेछ ।

प्रदेश–३ को नाम माझखण्ड, मध्यखण्ड, माझभूमि, माझप्रदेश र मध्यमाञ्चल, मध्याञ्चल, देवस्थली वा वागमतीमध्ये कुनै एक राख्न सकिन्छ ।

स्थायी मुकाम सकभर सर्वसम्मत र धेरैलाई पायक पर्ने ठाउँमा हुनुपर्छ । क्षेत्रीय संकीर्णता र राजनीतिक दलको दम्भले मात्रै यसमा निर्णय गर्नु उचित नहोला, किनभने भविष्यमा अर्को दलले बहुमत ल्याउने र शक्ति तल–माथि भइरहन पनि सक्छ ।

सदरमुकाम
हाल तोकिएको हेटौंडा प्रदेश–३ को अस्थायी मुकाम मात्रै हो । चितवन र मकवानपुर जिल्लाका सीमित जनताबाहेक अन्यलाई हेटौंडा अपायक नै छ । प्रदेश–३ को मुकाम काठमाडौं उपत्यकाभित्र पनि ठीक हुँदैन ।

यो अति नै प्रदूषित, भीडभाडयुक्त र अशान्त छ । अतः उपत्यका बाहिर काभ्रे जिल्लाको बनेपा आसपासमा अथवा मकवानपुर जिल्लाको उत्तरी भेगस्थित थाहा नगरपालिका अन्तर्गतको चित्लाङ–बज्रबाराही (मिनी उपत्यका) मुकामका लागि राम्रो र उपयुक्त छ भन्ने लाग्छ । यी दुवै ठाउँ काठमाडौं उपत्यकाको गञ्जागोलबाट बाहिर र नजिक पनि छन् ।

उपत्यका बाहिर काभ्रे जिल्लाको बनेपा आसपासमा अथवा मकवानपुर जिल्लाको उत्तरी भेगस्थित थाहा नगरपालिका अन्तर्गतको चित्लाङ–बज्रबाराही मुकामका लागि राम्रो र उपयुक्त छ भन्ने लाग्छ ।

दुवै ठाउँ प्राकृतिक सुन्दरताले भरिपूर्ण छन् । काठमाडौं, थानकोटबाट दुई–तीन किमीको सुरुङ बनाए चित्लाङ–बज्रबाराही पुग्न सकिएला । यी स्थान हावापानी, रहनसहन संस्कृतिको हिसाबले काठमाडौं जत्तिकै उत्तम छ । यी दुईमध्ये पनि एकान्तिक शान्तिका हिसाबले चित्लाङ–बज्रबाराही उपयुक्त लाग्छ । यस सम्बन्धमा विद्वत्हरूबाट थप बहस हुन् आवश्यक छ ।

हेटौंडामा पशुपन्छीको वासस्थान
हेटौंडा वडा नम्बर १ चौकी टोलबाट प्रारम्भ भएको दक्षिण भिरालो वन करीब २५ किमी लम्बाइमा पूर्वतिर फैलिएको छ । यो वनलाई पशुपन्छीको प्राकृतिक खुला आश्रयस्थलको रूपमा विकास गर्न सकिन्छ । यो वनको पूर्वमा प्रसिद्ध ऐतिहासिक ढुंगेगढी पर्दछ ।

त्यसको उँचाइ समुद्र सतहबाट १,२८० मिटर छ । दक्षिण फर्केको पारिलो यो वनका अधिकांश खोल्साहरूमा पानीको स्रोत छन् । यहाँ गुरौ खोला र शिकर कटेरीको बीचमा थोरै वनखण्ड मानव बस्तीले मिचेर साँघुरो भएको छ । यसलाई फराकिलो बनाउनतर्फ ध्यान दिनुपर्ने देखिन्छ ।

यसरी यो वन खण्डलाई पशुपन्छीको खुला प्राकृतिक वासस्थानको रूपमा विकास गर्न सक्दा यसले आन्तरिक र सीमापारिका पर्यटकलाई पनि आकर्षित गर्न सक्छ । विगतमा हेटौंडाका तत्कालीन मेयर डोरमणि पौडेलले शहीद पार्क निर्माण गरी जुन जस आर्जन गरे, वर्तमान मेयर हरिबोल महतलाई यो कार्य सम्पन्न गर्ने अवसर आएको छ ।

यस कार्यमा नागरिकहरूको भूमिका बढाउन विशेषतः हेटौंडा उपमहानगरपालिका र गढी गाउँपालिकाले पहलकदमी लिनुपर्दछ । प्रदेश–३ वासीका साथै सबैको यसमा नैतिक दायित्व रहनेछ ।

प्रतिकृया दिनुहोस