ब्लगसोमवार, श्रावण ७, २०७५

बाफिएर रोयो हिमाल

कनकमणि दीक्षित

अन्यत्र भन्दा हाम्रोमा राज्य/सरकारसँगको सान्निध्यताले गर्दा राम्रो हुँदा नागरिक हौसिन्छन्, नराम्रो हुँदा विरक्तिन्छन् ।

राजेश केसी (‘फलानो’) ले गएको हप्ता सामाजिक सञ्जाल माध्यमबाट नारायणगोपालको स्वर रहेको ‘साउनको झरी बनी तिमी आऊ न’ बोलको गीत गाए ।

दीपक जंगमको शब्द र नारायणगोपालको गायन पहिल्यैदेखि मनपर्ने, त्यसमाथि यी शब्द–

"बाफिएर आज हिमाल, किन रोएछ
कता कता मनभित्र घाउ दुखेछ ।"

अनायास आँखा रसाए, बोली अड्कियो । बिरामी परेर घरै बसेकोले अलि घोत्लिने मौका मिल्यो– किन दुख्यो यसरी मन ?

शारीरिक कमजोरीको कारण मात्र त होइन । मेरो चिन्तन नागरिक र राज्य, ढुंगा र माटोसँगको सम्बन्धतर्फ मोडियो ।

दक्षिणएशियाका मुलुकमध्ये नेपाल सबैभन्दा पुरानो ‘नेशन् स्टेट’ हो, अढाइ सय वर्षअघिको एकीकरणदेखि यो छँदैछ ।

अनेकन् सामाजिक विकृति र निरन्तर सामुदायिक बहिष्करणका बाबजूद एउटै मुलुकसँग २०औं पुस्ताको सम्पर्क रह्यो, एउटा भावना जाग्यो, जसलाई राष्ट्रियता पनि नभनौं, न त राष्ट्रवाद ।

यस अवधिमा एउटा सांस्कृतिक पहिचानको डोरोले बाँध्यो, नागरिक–नागरिक र नागरिक–राज्यबीच, जबकि त्यो पातलो डोरो सुषुप्त रुपमै रहिरह्यो । आज राष्ट्र–राज्यको युगमा त्यो सांस्कृतिक पहिचानले अलि मूर्तरुप लिंदैछ ।

संसार उपनिवेशकालबाट स्वतन्त्रताको युगमा प्रवेश गर्दा राज्य र राष्ट्रको उपस्थिति टड्कारो हुनपुग्यो र यो ‘ट्रेन्ड’ बाट नेपाल अलग रहेन ।

तर पनि नेपालीको ‘राष्ट्रियता’ छिमेकका दक्षिण एशियाली मुलुक भन्दा अलि फरक छ जस्तो लाग्छ– यस कारण पनि कि हाम्रो राष्ट्रिय पहिचान धेरै अघिको हो भने छिमेकमा ७० वर्षयता मात्र राष्ट्र–राज्य बन्न पुगे (भारत–पाकिस्तान सन् १९४७, श्रीलंका सन् १९४८, बाङ्लादेश सन् १९७१) ।

तर भावनाले मात्र आजको राष्ट्रिय पहिचानलाई थेग्न सक्दैन, नागरिकले राज्यबाट सामाजिक न्याय, आर्थिक विकास, सुशासन, अन्तरसामुदायिक सुसम्बन्ध आदिमा पनि आस राखेका हुन्छन् ।

नेपालको सन्दर्भमा हावापानी, भूगोल र मानव ‘डेमोग्राफी’ ले गर्दा यहाँको समाजलाई जीवनयापनको उँचाइ ताक्ने क्षमता दिलाउँछ । भन्नुको मतलब, नागरिकले देश र राज्यबाट आस गर्ने मनग्गे ठाउँ छ, गर्छन् ।

इतिहासका तन्तु र सम्भावनाका पुरियाहरूले मात्र पनि देशसँग नागरिकलाई बाँध्ने पूर्वाधार बनाउँदैन ।

आम नागरिकमा मुलुकको दिशा, समाजको गति, राजनीतिक धरातल फेरबदल गर्न सकिन्छ भन्ने विश्वास जागेको छ । किनकि राज्य सञ्चालनमा जनताको पहुँच पुगेको छैन भन्ने सही विचार पनि हामीसामु छ, तर दक्षिणएशियाको कुनै पनि क्षेत्र र उप–क्षेत्रका जनताभन्दा नेपालीमा ‘म पनि आन्दोलन र अभियानमा सहभागी भई केही गर्न, केही रोक्न र केही बनाउन सक्छु’ भन्ने विश्वास पलाएको देखिन्छ ।

आम नागरिकले आफ्नो क्रियाशीलता जगाइरहेका पनि छन् । राज्यको ढाँचा बदल्न जनआन्दोलन गर्छन्, तथाकथित ‘जनयुद्ध’ लाई अस्वीकार गरेरै गलाउँछन्, ज्ञानेन्द्रको असोजतन्त्र लत्याउँछन्, भारतीय नाकाबन्दीलाई जरैदेखि उखेलिदिन्छन्– यत्तिका सफलताहरू जनताको ‘केही गरिछाड्छु’ भन्ने अठोटमा आधारित छन् ।

यसरी राष्ट्रिय ‘न्यारेटेभ्’ लाई हाँक्न सक्ने प्रमाणित क्षमता भएका कारण नेपालका नागरिकमा केही राम्रो भइहाल्दा खुशीको सीमा रहँदैन, केही अनिष्ट आइलाग्दा सबैको मन भारी हुन्छ ।

आफ्नो ‘एजेन्सी’ नभएको समाजमा नागरिक बढी भाग्यवादी हुन्छन् र कुनै पनि उतारचढावले उनीहरुलाई छुँदैन । नेपालीलाई भने एक एक उतार र चढावले छुन्छ, हँसाउँछ र रुवाउँछ ।

यही कारण हुनुपर्दछ, ‘बाफिएर आज हिमाल किन रोएछ’ हरफ सुन्दै गर्दा गलामा गाँठो परेको । आज द्वन्द्वकाल, ज्ञानेन्द्र क्षण, संक्रमण अवधि, नाकाबन्दी पार गर्दै संविधान लेखिंदा र तीन–तीन सरकारको निर्वाचन भइसक्दा नेपाल वास्तवमा स्थायित्व तथा समृद्धिको सँघारमा उभिएको छ भन्ने आस होइन अठोट सबैमा थियो ।

तर स्थानीय, प्रान्तीय तथा संघीय सरकार हाँक्नेहरूको तरिका र रवैया हेर्दा लागिपरेका जनताको आस फेरि एकपटक खेर जाने पो हो कि !

अकर्मण्यताले अराजकता निम्त्याउँछ, जसले अवसरवादको बाटो खोलिदिन्छ । उपलब्धि हातैबाट गुम्न आँटेको देखेर आज मुलुकभर दशौं लाख गला अवरुद्ध छन् ।

प्रतिकृया दिनुहोस