भारतमा १२ वर्षमुनिका बालिकामाथि कुकर्म गर्नेलाई मृत्यु दण्ड दिने विधेयक पेश हुँदै
नयाँ दिल्ली (एजेन्सी)– भारतमा १२ वर्षभन्दा कम उमेरको बालिकामाथि कुकर्म गर्ने अभियुक्तलाई मृत्युदण्ड दिने प्रावधानसहितको विधेयक आज लोकसभामा पेश हुँदैछ।
पछिल्लो समय भारतमा बढ्दो बलात्कारको घटनापछि सरकारले तल्लो सदनमा सोमबार विधेयक पेश गर्न लागेको हो। सरकारले गत २१ अप्रिलमै विधेयकको समर्थन गरिसकेको छ।
केही समयअघि मात्र जम्मु–कश्मिरको कठुआ र उत्तर प्रदेशको उन्नावमा बालिकामाथि सामूहीक बलात्कारको घटना बाहिर आएको थियो।
आज पेश हुन लागेको विधेयकमा १२ वर्षभन्दा कम उमेरका बालिकामाथि कुकर्म गर्ने अभियुक्तलाई मृत्यु दण्ड र १६ वर्षभन्दा कम उमेरका किशोरी बलात्कार गर्नेलाई कडा सजायको व्यवस्था गरिएको छ।
केही समयअघि जम्मु–कश्मिरको कठुआमा ८ वर्षीय बालिकाको बलात्कारपछि हत्या गरिएको थियो। विधेयकमा १२ वर्ष मुनिका बालिकामाथि बलात्कार गर्नेलाई न्युनतम २० वर्ष जेल वा मृत्यु दण्डको प्रावधान राखिएको छ। १६ वर्ष कम उमेरको बालिकामाथि सामूहिक बलात्कार गर्ने व्यक्तिलाई आजीवन जेल सजायको प्रावधान राखिएको छ।
यस बाहेक महिलामाथि बलात्कार गर्ने दोषीलाई १० वर्ष श्रमसहित जेल वा आजीवन जेल सजाय हुने कानुन स्विकृत हुन सक्ने बताइएको छ। यसअघि यो मुद्धामा ७ वर्षको जेल सजायको प्रावधान मात्र थियो।