साग गेम्समा पहिलो पल्ट प्याराग्लाइडिङ समावेश
काठमाडौं– नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पहिलो पल्ट प्याराग्लाइडिङलाई समावेश गरिएको छ।
नेपालसहित ६ दक्षिण एसियाली राष्ट्रका प्रतिनिधिबीच आइतबार काठमाडौंमा बसेको बैठकले प्याराग्लाइडिङलाई पनि सागमा समावेश गर्ने निर्णय गर्यो।
बैठकले २०१० मा बंगलादेशमा पहिलो पल्ट समावेश गरिएको क्रिकेटलाई पनि पुनः साग गेम्समा समावेश गर्ने निर्णय गरेको छ। ८ वर्षपछि क्रिकेट पुनः साग गेम्समा समावेश भएको हो। दक्षिण एसियाली ओलम्पिक काउन्सिलको चौथो बैठकले यी दुई खेलसँगै कूल २७ खेललाई मान्यता दिएको छ।
अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी तथा काउन्सिलका अध्यक्ष जीवनराम श्रेष्ठले १३ औं सागमा २७ खेल समावेश हुने जानकारी दिए।
उनका अनुसार नेपालमा आयोजना हुने साग गेम्समा आर्चरी, एथलेटिक्स, ब्याडमिन्टन, बास्केटबल, बक्सिङ, साइक्लिङ, फेन्सिङ, फुटबल, गल्फ, ह्यान्डबल, जुडो, कबड्डी, कराते, खो खो, सुटिङ, स्क्वास, पौडी, टेबलटेनिस, तेक्वान्दो, टेनिस, ट्रायथलन, भलिबल (बिच भलिबलसहित), भारोत्तोलन, कुस्ती, उसु, क्रिकेट र पाराग्लाइडिङ रहेका छन्। बैठकमा भुटान अनुपस्थित थियो।