पाकिस्तानमा चुनाव अगाडि उम्मेदवारको हत्या
इस्लामावाद– पाकिस्तानमा आसन्न निर्वाचनका अगावै विपक्षी ताहरिक ए इन्साफ(पिटीआई) का एक उम्मेदवारको आइतबार हत्या भएको छ। पिटीआई पाकिस्तानका पूर्व क्रिकेट कप्तान इमरान खान अध्यक्ष रहेको पार्टी हो।
आइतबार चुनावी सभामा पीटीआईका उम्मेदवार इक्रामुल्लाह खानको हत्या भएको हो। घटनामा खानका चालकको पनि मृत्यु भएको जनाइएको छ।
आत्मघाती हमलामा परी गम्भीर घाइते भएका दुवै जनालाई पहिले अस्पताल पुर्याइएको थियो, त्यही उनीहरूको उपचारको क्रममा निधन भएको हो।
आक्रमणकारीले गान्दापुरको चुनावी सभालाई लक्षित गरी आत्मघाती बम हमला गरेका थिए। घटना भएको क्षेत्रमा १३ जना प्रहरीलाई खटाएको थियो। तर, मारिएका व्यक्तिहरूले कुनै जानकारी नदिइ आफ्नै सुरले हिँडेका कारण अप्रिय घटना भएको प्रहरीले दावी गरेको छ।
प्रहरीले अप्रिय घटना हुनसक्ने चेतावनी पहिले नै दिएको भए पनि उनीहरूले बेवास्ता गरेको बतायो। आइतबारको घटनाको जिम्मेवारी हालसम्म कसैले लिएको छैन।
पाकिस्तानमा यही जुलाई २५ मा निर्वाचन हुने तय भएको छ र त्यहीअनुसार निर्वाचन प्रचारप्रसार कार्यक्रम तीव्र भइरहेको छ ।
प्रचारप्रसारको तीव्रतासँगै पाकिस्तानमा यस पटकको निर्वाचनका लागि आयोजित कार्यक्रमहरूमा भएका आक्रमणहरूमा परी कम्तीमा १७० जनाको मृत्यु भएको छ भने २०० भन्दा बढी घाइते भएका छन् ।
रासस –एएफपी