चितवनमा २ सय लिटर दूध बाटोमा पोखेर विरोध
रत्ननगर– चितवनका दुग्ध किसानले दूधको मूल्य घटाएको भन्दै आन्दोलन जारी राखेका छन्।
दुग्ध विकास संस्थान र निजी डेरीले दूधको मूल्य घटाएको आरोप लगाउँदै किसानले आइतबार खैरहनी नगरपालिका–१ ज्यामिरे चोकमा दुई सय लिटर दूध सडकमा पोखेर विरोध प्रदर्शन गरेका हुन्।
किसानलाई दिँदै आएको दूधको मूल्यमा तीन रुपैयाँ घटाइएको दुग्ध उत्पादन सहकारी संस्था नगर समन्वय समिति खैरहनीका अध्यक्ष मुकुन्द दवाडीले बताए। खैरहनीमा रहेका २४ सहकारी संस्थाका प्रतिनिधिले सांकेतिक रुपमा भन्दै दूध सडकमा पोखेर विरोध गरेका हुन्।
शुक्रबार उनीहरुले राप्ती नगरपालिकामा पनि यसैगरी सडकमा दूध पोखेर विरोध जनाएका थिए। सोमबार रत्ननगरमा दूध पोखेर प्रदर्शन गर्ने चितवन जिल्ला दुग्ध सहकारी संघका अध्यक्ष हरिहर सुवेदीले बताए। उनका अनुसार दुग्ध विकास संस्थान (डिडिसी)ले दूधको गुणस्तरको आधारमा २५ प्रतिशत अतिरिक्त रकम दिने गरेको छ। त्यो रकम संस्थानले कटौती गरेको हो।
यसलाई हिसाब गर्दा करिब तीन रुपैयाँ कटौती हुने दाबी सुवेदीको छ। राज्यले किसानलाई सहुलियत र सुविधा दिनुपर्नेमा उल्टै मूल्य कटौती गर्नु दुःखद् भएको भन्दै अध्यक्ष सुवेदीले तत्काल निर्णय फिर्ता लिन आग्रह गरे।
मूल्य नबढाए कडा आन्दोलन गर्ने किसानको चेतावनी छ। चितवनमा व्यावसायिक रुपमा दुई लाख ५० हजार लिटर दूध उत्पादन हुन्छ।
दुग्ध विकास संस्थानका निमित्त महाप्रबन्धक इश्वरी न्यौपानेले दूधको मूल्य नघटाएको दाबी गरेका छन्। उनले सरकारले दिँदै आएको अतिरिक्त मूल्यमात्रै कटौती गरेको बताए। उनले दूधको गुणस्तर हेरेर ‘टिएस’मा २५ प्रतिशत थप मूल्य दिँदै आएकामा सोही थप मूल्य मात्रै कटौती भएको तर तोकिएको मूल्य नघटाइएको दाबी गरे।