ब्लगआइतवार, श्रावण ६, २०७५

बीपीले विधि नबुझ्दा

भैरव रिसाल

निर्वाचनमा विजयी पार्टीले संसदीय दल बनाउनुपर्छ, दलको नेता–उपनेता छानिनुपर्छ र त्यो खबर राष्ट्रप्रमुखलाई दिनुपर्छ भन्ने बीपीलाई थाहा हुनुपथ्र्यो ।

कुरो हो, २०१६ वैशाख पहिलो हप्ताको । नेपालको पहिलो महानिर्वाचनको परिणाम सार्वजनिक हुँदैथियो, तर १०९ सदस्यीय प्रतिनिधिसभामा नेपाली कांग्रेसले पूर्ण बहुमत ल्याइसकेको थियो । लक्ष्मणराज पाण्डे ‘नयाँ समाज’ दैनिकका जल्दाबल्दा पत्रकार थिए, निकै सक्रिय र दरबारका भारदारदेखि राजनीतिक पार्टीका उपल्लो तहसम्म पहुँच भएका ।

एक दिन उनी बिहानको नौ–साढे नौ बजेतिर सूर्यप्रसाद उपाध्यायको घर भाटभटेनी पुगेछन्, जहाँ नेपाली कांग्रेसका नेता–कार्यकर्ताको जमघट भैरहन्थ्यो । कांग्रेसका एक नेताले सूर्यबाबुको भुईंतलाको कोठातिर जान संकेत गरेपछि पाण्डे गए । त्यहाँ खाटमा बसिरहेका कांग्रेस सभापति विश्वेश्वरप्रसाद कोइरालामा उनले एकखालको छटपटी देखे । असहज अवस्थामा विश्वेश्वरप्रसादलाई देखेपछि लक्ष्मणराजले सोधेछन् “के भो सान्दाइ, के गरिरहेको यस्तो ?”

विश्वेश्वरप्रसाद कोइराला ।

बीपीले भने रे, “लक्ष्मणजी, यसपल्ट पनि राजाले लटपट्याउने जस्तो छ । खोइ, सरकार बनाउन बोलाउने छाँटै छैन !” लक्ष्मणराजले पनि गम्भीर भएर भने रे, “म बुझ्ने प्रयास गर्छु । अहिल्यै यसरी हताश हुनुहुँदैन । सान्दाइ नै यसरी उदास र निरीह भएपछि अरूले के गर्ने ?”

वागमतीको कालमोचन घाटपारि गन्धक मिसिएको तातोपानीको मूल, जसलाई राजतीर्थ पनि भनिन्छ, त्यहाँ तत्कालीन राजाका प्रमुख सचिव सरदार हंसमान सिंह सधैं नुहाउन जान्थे । त्यहाँ जाँदा–आउँदा भेटिएका कैयौं मान्छेबाट हंसमानले मुलुकको अवस्था थाहा पाउने गर्दा रहेछन् ।

त्यस्तै, राजाका अरू दुई सचिव मधुसूदन राजभण्डारी र ईश्वरीमान सिंह पनि हरेक बिहानजसो नयाँसडक, इन्द्रचोक घुम्ने गर्थे । त्यतै बाटोमा भेटिने हुँदा राजाका कानमा पुर्‍याउनुपर्ने कुरा राजाका सचिवहरूलाई भन्ने परिपाटी जस्तै थियो । लक्ष्मणराज पाण्डेले एक–दुई दिनमै विश्वेश्वरप्रसादको गुनासो राजाका सचिवहरूको कानमा पु¥याएछन् र उत्तर पनि बटुलेछन् ।

गाँठो यसरी फुकेछ
लक्ष्मणराज विश्वेश्वरप्रसाद कहाँ गएर राजाका सचिवहरूबाट आएको जवाफ बताएछन्, “दरबारलाई कांग्रेसले केही भनेको छैन । अखबारको भरमा दरबार केही गर्दैन । निर्वाचन आयोगबाट पनि नतिजा आएको छैन । सरकारले पनि औपचारिक रूपमा राजालाई चुनावको परिणामबारे केही बिन्ती गरेको छैन । चुनाव सकिएको पनि त छैन क्यार ! अनि के गर्ने राजाले ? नेपाली कांग्रेसले निर्वाचनमा बहुमत ल्याएको भए त संसदीय दल बनाउँथ्यो ।”

त्यसपछि नेपाली कांग्रेसले १५ वैशाखमा केन्द्रीय समिति र संसदीय उपसमितिको बैठक बोलायो । प्रतिक्रियावादी शक्तिले चुनाव नगराउन गरेको कुप्रयासको विपरीत निर्वाचन गराएकामा श्री ५ प्रति हार्दिक कृतज्ञता प्रकट गरेको प्रस्ताव पनि बैठकले पास गरेको थियो । त्यसको अघिल्लो दिन १४ वैशाखको राति विश्वेश्वरप्रसादले राजालाई भेटेका थिए ।

सोही वैशाख २१ का दिन सुवर्णशमशेरको ‘ललिता निवास’ मा कांग्रेस सांसद र कांग्रेसकै उच्चस्तरीय नेताहरूको बैठक बस्यो । त्यसमा सुवर्णशमशेरले ‘पार्टी आजको ठाउँमा पुग्नमा पार्टी सभापतिको सही नेतृत्वको प्रमाण हो’ भनी विश्वेश्वरप्रसादको प्रशंसा गरे र कांग्रेस संसदीय दलको नेतामा विश्वेश्वरप्रसादको नाम प्रस्ताव गरे ।

गणेशमान सिंहले ‘चुनाव र प्रजातन्त्रको उपहास गरिने कुचालमा छन्, अप्रजातान्त्रिकहरू र परिस्थिति जटिल र विषम छ’ भनेपछि सो प्रस्ताव सर्वसम्मतले पास भयो । बीपी कांग्रेसको संसदीय दलको नेता चुनिए । त्यसपछि गणेशमान सिंहले उपनेतामा सुवर्णशमशेरको नाम पेश गरे । सो प्रस्तावलाई रामनारायण मिश्रले समर्थन गरेपछि सर्वसम्मतिले पास भयो ।

राजा र विश्वेश्वरप्रसादबीच बराबर भेट हुन थालिसकेको थियो । २०१६ जेठ १ को साँझ साढे ६ बजे राजा र बीपीबीच महत्वपूर्ण भेट भयो । त्यसै राति साढे १० बजे राजाले विश्वेश्वरप्रसादलाई प्रधानमन्त्री भई मुलुकको सेवा गर्ने पत्र पठाए ।

४ गते राति साढे ६ बजे मन्त्रिमण्डलको नामावली सहितको कार्यक्रम बीपीले राजालाई दिए । पर्सिपल्ट ८ मन्त्री र ११ उपमन्त्रीको नाम प्रकाश भो । १३ गते विश्वेश्वरप्रसादको प्रधानमन्त्रित्वमा अन्तरिम सरकारको घोषणा भो ।

निर्वाचनमा विजयी पार्टीले संसदीय दल बनाउनुपर्छ, दलको नेता–उपनेता छानिनुपर्छ र त्यो खबर राष्ट्रप्रमुखलाई दिनुपर्छ भन्ने बीपीलाई थाहा हुनुपथ्र्यो । संसदीय व्यवस्थाको सामान्य विधि हो यो ।

नयाँ–नयाँ धेरै पुस्तक पढ्ने सूर्यप्रसाद उपाध्यायलाई पनि यो कुरा थाहा हुनुपर्ने हो । तर, उहाँहरूले त्यति हेक्का नराख्दा यो गाँठो फुकाउन पत्रकार लक्ष्मणराज पाण्डेले जस पाउनुभो । यसरी टुंगियो विश्वेश्वरप्रसादको छटपटीको किस्सा ।

प्रतिकृया दिनुहोस