जापानमा तातो हावाका कारण ३० को मृत्यु
टोक्यो– जापानमा अत्यधिक गर्मीका कारण ३० जनाले ज्यान गुमाएको सरकारी अधिकारीले आइतबार जानकारी दिएका छन्।
केही दिनयता जापानको तापक्रम एक्कासी बढेपछि स्थानीयहरुलाई अनावश्क रुपमा घाममा नजान देशभर सूचित गरिएको छ।
गर्मीको कारण उत्पन्न रोग र संक्रमणको उपचार गराउन हजारौँ व्यक्ति अस्पताल पुगेका छन्। गत साताको शुरुदेखि बढेको तापक्रम मध्य जापानमा भने ४०.७ डिग्री सेल्सियससम्म पुगेको छ।
यो तापक्रम पाँचवर्ष यताकै उच्च भएको सरकारी तथ्याङ्कले पुष्टी गरेको छ। यसैबीच क्योतो सहरमा मात्र लगातार सात दिन ३८ डिग्री सेल्सियसभन्दा माथि तापक्रम रहेको जनाइएको छ।
जापानमा तापक्रमको रेकर्ड राख्न थालिए यताकै उच्च भएको जापानी मौसम विज्ञान विभागले जानकारी दिएको छ।
जापानको शिक्षा मन्त्रालयले विद्यालयलाई उच्च गर्मीबाट जोगिन सक्दो उपाय अपनाउन सूचना जारी गरेको छ।
मङ्गलबार जापानको क्योतो शहरको आइची जिल्लामा ६ वर्षीया बालकको ज्यान गएको थियो। उनको विद्यालयमै ज्यान गएको बताइएको छ।
त्यसैले कतिपय जिल्लाका प्राथमिक विद्यालयको पठन पाठन पनि बन्द गराइएको छ।
जापानमा यसै महिनाको शुरुमा भएको ठूलो वर्षाका कारण उत्पन्न बाढी र पहिरोले दुई सयभन्दा धेरैको ज्यान गएको थियो।
जापानमा आएको बाढी र वर्षा पनि ४० वर्षयताकै सबैभन्दा ठूलो मानिएको छ। बाढीको प्रकोप घटेपछि तातो हावा चल्न थालेको छ।
यसलाई कतिपय मौसमविद्ले जलवायु परिवर्तनसँग तुलना गरेका छन्। रासस÷एएफपी