मधेश आन्दोलनका घाइतेले रुँदै भने– राहतमा विभेद भयो
पर्सा– प्रदेश नं २ को सरकारले आन्दोलनका घाइतेलाई राहत रकम वितरण गर्दा विभेद गरेको आरोप मधेश आन्दोलनका घाइतेले लगाएका छन्।
२०७२ को तेस्रो मधेश आन्दोलनका क्रममा प्रहरीको गोली लागि घाइते भएका चार आन्दोलनकारीले आइतबार पत्रकार सम्मेलन गर्ने क्रममा भने, ‘मधेशवादी नेताले सामान्य घाइते भएका आफन्तलाई लाखौंँ रुपैयाँ राहत प्रदान गरे। तर, प्रहरीको गोली लागी घाइते भएका हामी जस्तालाई नगण्य राहत प्रदान गरेको छ।’
वीरगञ्ज महानगरपालिका–२२ निवासी उपेन्द्र यादवले प्रहरीले चलाएको गोली खुट्टामा लाग्दा घाइते भएको र ३० महिनासम्म स्वदेश तथा विदेशका विभिन्न अस्पतालमा उपचार गराउँदा घरजग्गा बिक्री गर्नुपरेको गुनासो गरे। उनले यसक्रममा १५ लाख खर्च भएको र शोधभर्ना माग्दा प्रदेश नं २ का मुख्यमन्त्रीले नदिने बताएको भन्दै विभेदको अन्त्य गर्न केन्द्र तथा प्रदेश सरकारलाई आग्रह गरे।
‘मलाई ६ जनाको परिवार पाल्न गाह्रो भएको छ। काम गर्न समेत सक्षम छैन। आफ्नो परिवारको भरणपोषण तथा बालबालिकाको पढाइको जिम्मा सरकारले लिनुपर्छ’, उनले भने, ‘साउन ३ गते प्रदेश सरकारले वीरगञ्जका दुई घाइतेलाई तीन लाख राहत प्रदान गरे पनि मलाई एक लाख र उपचारमा गरिएको खर्चसमेत दिएनन्।’
मधेश आन्दोलनका अर्का घाइते नगिना पासवानले प्रहरीले चलाएको गोली अझै आफ्नो टाउकामा रहेको र काम गर्न नसकेकाले परिवारको भरणपोषणमा समस्या आएको बताए। उनले पनि केन्द्र तथा प्रदेश दुवैै ठाउँमा मधेशवादी पार्टी सरकारमा रहेपनि नेताहरूले वास्ता नगरेको आरोप लगाए।
आँखाबाट आँशु झार्दै पासवानले भने, ‘टाउकोमा गोली छ। मैले काम गर्न सकिरहेको छुइनँ। आर्थिक अवस्था बिग्रिँदै गएको छ। परिवार पाल्न गाह्रो परिरहेको छ।’
पत्रकार सम्मेलनमा सहभागी मधेश आन्दोलनका घाइते लालबाबुप्रसाद र अनर्जित यादवले सबै घाइतेलाई उचित राहत र उपचार खर्च अविलम्ब दिन माग गरे।
रासस