कामपाको निःशुल्क इन्टरनेट सेवा मेलम्चीका कारण अवरुद्ध
काठमाडौँ– मेलम्ची खानेपानीको पाइप ओछ्याउने कामले गर्दा काठमाडौँ महानगरपालिकाले सार्वजनिक स्थानमा राखेको इन्टरनेट प्रयोगमा समस्या भएको छ।
केही समयअघि कामपाले सात सार्वजनिक स्थानमा इन्टरनेट जडान गरेको थियो। मेलम्ची खानेपानीको पाइप ओछ्याउने काम भइरहँदा तार केही समयको लागि काट्नुपर्ने भएकाले समस्या आएको कामपाका सूचना प्रविधि महाशाखा प्रमुख धु्रव काफ्लेले जानकारी दिए।
तीन महिनाअघि कामपा र वल्र्ड लिङ्क कम्युनिकेशन प्रालिबीच भएको सम्झौतानुसार सर्वसाधारणका लागि पशुपतिनाथ क्षेत्र, बालाजु उद्यान, शंखपार्क, स्वयम्भू, बौद्ध र हनुमानढोका दरबार क्षेत्रमा निःशुल्क इन्टरनेट जडान गरिएको थियो।
सार्वजनिक स्थानमा स्वदेशी तथा विदेशीको चाप बढी हुने भएकाले उनीहरुको सुविधालाई ध्यानमा राख्दै कामपाले यस्तो व्यवस्था गरेको हो। अहिले जडान गरिएका सबै स्थानमा १० एमबीपीएस क्षमताको इन्टरनेट राखिएको छ। सबै स्थानमा गरी दैनिक दुई सय नागरिकले मात्र इन्टरनेट सुविधा प्रयोग गर्ने अनुमान कामपाले गरेको थियो।
हनुमानढोका र बालाजुमा नागरिक बढी आउने जाने भएकाले उक्त स्थानमा यसअघि जडान गरिएको भन्दा धेरै एमबीपीएस क्षमताको इन्टरनेट राख्नुपर्ने अवस्था आएको काफ्लेले बताए। आवश्यकता हेरी अन्य स्थानमा पनि इन्टरनेट राख्ने योजना कामपाको छ।
रासस