नक्कली बिल प्रकरणमा प्रमुखमाथि कारवाहीको माग गर्दै चक्काजाम
लहान– कर्जन्हा नगरपालिकाका प्रमुख गंगा पासवानले आफ्नै कार्यालयका कर्मचारीलाई कुटपिट गरेको आरोपमा स्थानीयवासीले आइतबार बिहान पूर्वपश्चिम राजमार्गस्थित सिरहा बस्तीपुरमा चक्काजाम गरेका छन्।
नगर प्रमुख पासवानमाथि नगरपालिका कर्मचारी बलिराम यादवलाई जबर्जस्ती काम गर्न दबाब दिँदै कुटपिट तथा दुव्र्यवहार गरेको आरोप लागेको छ। स्थानीयवासीले बिहान ८ बजेदेखि आधा घण्टा चक्काजाम गरेका हुन्। चक्काजामका कारण पूर्व र पश्चिमबाट आएका सवारी साधन बाटोमा रोकिएका थिए।
इलाका प्रहरी कार्यालय मिर्चैया र कर्जन्हाबाट खटिएको प्रहरी टोलीले हस्तक्षेप गरी बाटो खोलाएका थिए। नगरपालिकाले खरिद गरेको माटो खन्ने जेसिबी गाडीको भ्याट बिल विना भुक्तानीका लागि कागजपत्र तयार पार्न दबाब दिएको तर आफूले नमानेका कारण नगर प्रमुखले कुटपिट गरेको नगरपालिकाका जिन्सी तथा प्रशासन शाखा प्रमुख यादवले आरोप लगाए।
नगर प्रमुख पासवानलाई कारवाही गर्नुपर्ने मागसहित आफूहरूले चक्काजाम गरेको स्थानीयवासी तथा नयाँ शक्ति पार्टीका नेता प्रभात महतोले जानकारी दिए।
रासस