इबिजामा नाडाल र मेसीको भेट
इबिजा (एजेन्सी)– च्याम्पियन्स लिगमा रियल म्याड्रिड क्लबको सफलता मनाउन केही समय अगाडि इबिजा पुगेका स्टार टेनिस खेलाडी राफेल नाडाल म्याड्रिडको प्रतिद्वन्दी क्लब बार्सिलोनाका स्टार खेलाडी लिओनल मेसीसँग देखिएका छन्।
नाडालले विहिबार राती लिओ रेष्टुरान्टमा मेसीसँग समय बिताएका थिए। नाडाल बार्सिलोना र विशेष गरि मेसीका ठूला ‘फ्यान’ हुन्। विश्वकप समाप्तीसँगै मेसी हाल स्पेनको तटीय क्षेत्र इबिजामा परिवारसहित समय व्यतित गरिरहेका छन्।
विहिबार इबिजामा ‘पाचा’ समूहको कन्सर्ट थियो। यही नाडाल र मेसीको भेट भएको स्पेनी पत्र–पत्रिकाले जनाएका छन्। यी दुई स्टारले यस अवसरमा केही समय भलाकुसारी गरेका थिए। कन्सर्टमा मेसी आफ्नो पत्नी आन्टोनेला रोकुजोसँग थिए। मेसीकी बहिनी मारिया सोलले अस्ट्रेलियन ब्यान्ड एसीडिसीको चर्चित गीत ‘हाइवे टु हेल’ गाएकी थिइन।
यस अवसरमा इङ्लिस क्लब टोटेनहमका एरिक डायर र म्यानचेस्टर सिटीका आक्रामक मिडफिल्डर रहिम स्टेरलिङ पनि उपस्थित थिए। उनीहरू पनि इङ्ल्यान्ड विश्वकपको सेमिफाइनलबाट बाहिरिएपछि छुट्टि मनाउन इबिजा पुगेका थिए।
मेसी पत्नी रोकुजोले सेस फेब्रिगासकी श्रीमति डानियला सिमनसँग समय बिताएकी थिइन। इबिजा विश्व चर्चित खेलाडीहरूका लागि आराम गर्ने स्थलको रुपमा परिचित छ। यहाँ नेइमार र रोनाल्डो, फर्मुला वानका लुइस हेमिल्टन र टेनिस स्टार नोभाक जोकोभिच पनि छुट्टि मनाउन आउने गर्छन।