हुलास स्टिल र जगदम्बा स्टिलमा आगलागी
बारा (हिमाल)– बाराको सिमरास्थित हुलास स्टीलमा शनिबार अपरान्ह आगलागी भएको छ। विद्युत सर्ट भई आगो लागेको प्रहरीले जनाएको छ।
हुलास स्टीलको कोल्ड रोलिङ्ग प्लान्टमा अपरान्ह ५ बजेको समयमा आगो लागेको हो। आगो नियन्त्रणमा लिन ५ वटा दमकलको प्रयोग गरिएको र करिव एक घण्टापछि नियन्त्रणमा आएको प्रहरीले जनाएको छ। आगलालीबाट मानवीय क्षति भएको छैन।
प्रहरीले क्षतिको पूर्ण विवरण प्राप्त नभईसकेको भएपनि करिव एक करोड बरावरको क्षति भएको हुन सक्ने उद्योग प्रशासनले जनाएको छ।
यसै गरी अपरान्ह बाराको सिमरास्थित जगदम्बा स्टीलको जि.आई. प्लान्टको फर्मेस आयलमा पनि आगो लागेको प्रहरीले जनाएको छ। आगलागीबाट जगदम्वाको फर्मेस आयल ट्याङ्क र विद्युत वायर क्षतिग्रस्त भएको प्रशासनले जनाएको छ।