म्याड्रिडमा कसले हात पार्ला रोनाल्डोको ७ नम्बर जर्सी?
म्याड्रिड (एजेन्सी)– पोर्चुगलका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको अनुपस्थितिमा रियल म्याड्रिडको चर्चित ७ नम्बर जर्सी आगामी सिजनदेखि कसले लगाउँछ भन्ने विषयमा बहस सुरु भएको छ।
करिब दुई साताअघि रोनाल्डो १० करोड युरोमा म्याड्रिडबाट बिदा हुँदै इटालीको युभेन्ट्स क्लबमा स्थानान्तरण भएका थिए। युभेन्ट्समा पनि उनी ७ नम्बरकै जर्सीमा देखा पर्ने पक्का भइसकेको छ।
तर, म्याड्रिडमा रिक्त ७ नम्बर जर्सी कसले पाउँछ भन्ने विषय सबैका लागि कौतुहल बनेको छ। स्पेनी पत्रिकाहरूले आगामी सिजन ७ नम्बर जर्सी पहिरिने खेलाडीको नाम कप्तान सर्जियो रामोसलाई मात्र थाहा भएको बताएका छन्। तर, ‘डारियो गोल’ पत्रिकाले एक कदम अगाडि बढ्दै आगामी सिजन रियल म्याड्रिडको ७ नम्बर जर्सी लगाउने मौका मार्को असेन्सियोले पाउने दावी गरेको छ।
असेन्सियो अहिले म्याड्रिड समर्थकको मुखमा झुन्डिएको नाम हो। सन् २०१६–१७ को सिजनदेखि उनी एक्कासी चर्चामा आएका थिए। उनी २०१७ को स्पेनिस सुपर कपमा कट्टर प्रतिद्वन्दी बार्सिलोनाविरूद्ध गरेको प्रदर्शनपछि घरेलु नाम नै बन्न पुगेका थिए।
उनी च्याम्पियन्स लिगमा पनि मिडबाट प्रभावशाली ढंगले बल उपलब्ध गराउन सफल भएका थिए।