पूर्व राष्ट्रपति बुसका मुटु विशेषज्ञको गोली हानि हत्या
न्युयोर्क (एजेन्सी)– अमेरिकी पूर्व राष्ट्रपति सिनियर जर्ज डब्ल्यु बुसका चिकित्सक डा. मार्क हस्कनेच्टको अज्ञात व्यक्तिले गोली हानि हत्या गरेका छन्। शुक्रबार बिहान ९ बजे हस्टन मेडिकल कम्प्लेक्समा साइकलमा रहेका चिकित्सक मार्कलाई साइकलबाटै आएका अज्ञात व्यक्तिले गोली हानि फरार भएका थिए।
उनको हत्या पेशेवर व्यक्तिले गरेको हो कि अमेरिकामा प्रायः हुने गोली काण्डको हिस्सा बनेका हुन्, यसको जाँच स्थानीय प्रहरीले गरिरहेको छ। हस्टन प्रहरीका सहायक प्रमुख ट्रोय फिनरले चिकित्सक मार्कलाई नर्थ टेक्सास मेडिकल सेन्टर जाने क्रममा गोली हानिएको पुष्टी गरेका छन्।
‘अभियुक्त पनि साइकलमा आएका थिए। चिकित्सकलाई उछिनेर साइकल घुमाउँदै दुई गोली उनलाई हानिएको थियो। गोली लागेका चिकित्सक तत्कालै भूइँमा लडेका थिए,’ फिनरले भने। ६५ वर्षीय मार्कलाई नजिकै अस्पतालमा भर्ना गरिएपनि उनको निधन भयो।
घटना १ हजार ३ सय ४५ एकड क्षेत्रफलमा फैलिएको हस्टन अस्पताल र मेडिकल कलेजको बीचमा भएको थियो। बाक्लो ट्राफिक हुने यस क्षेत्रमा अभियुक्तको खोजी भइरहेको छ। अभियुक्तले ‘ग्रे’ रंगको वार्मअप ज्याकेट र खाकी सर्ट पहिरिएको र बेसबल क्याम्प लगाएको बताइएको छ।
मार्कले सन् २००० को फेब्रुअरीमा मुटुको ढुकढुकीमा समस्या भएपछि अमेरिकी पूर्व राष्ट्रपति बुसको सल्यक्रिया गरेका थिए। बुसले शुक्रबार नै चिकित्सक मार्कको निधनमा गहिरो दुःख मनाएका छन् र उनले विज्ञप्ती सार्वजनिक गर्दै संवेदना जनाएका थिए।
‘मार्क उत्कृष्ट मुटु विशेषज्ञ थिए र असल व्यक्ति पनि,’ बुसले भनेका छन्, ‘म सधै अनुग्रहित रहने छु उनको असामान्य र उदार भावको हेरचाहका लागि।’ मार्क विगत ४० वर्षदेखि कार्डियोमा कार्यरत थिए।