चन्द्रमामा करिब २ घण्टा ३० मिनेट बिताएका थिए, आर्मस्ट्रङ र एल्ड्रिनले
न्युयोर्क (एजेन्सी)– करिब ५० वर्षअघि कसैले चन्द्रमा पुग्ने कुरा गर्यो भने उनीहरूलाई मुर्ख मात्र होइन, पागलको संज्ञा पनि दिइन्थ्यो। तर, १९६९ मा अमेरिकी अतंरिक्ष यात्री निल आर्मस्ट्रङले पहिलो मानवको रूपमा चन्द्रमामा पाइला टेकेपछि सबै आश्चर्यचकित परेका थिए।
अमेरिकी वैज्ञानिक आर्मस्ट्रङले चन्द्रमामा पाइला टेकेको शुक्रबार राती ४९ वर्ष पुरा भएको छ। उनले २० जुलाई १९६९ मा चन्द्रमामा पाइला टेकेका थिए। उनी केही कदम हिडेका पनि थिए, जुन ‘मुन वाक’ को रुपमा चर्चित छ। उनको ‘मुन वाक’ लाई पछि चर्चित गायक माइकल ज्याक्सनले आफ्नो गीति एल्वममा ‘मुन डान्स’ को रूपमा ख्याति पनि दिलाएका थिए।
आर्मस्ट्रङले चन्द्रमामा पहिलो कदम राखेको केही पछि एलविन एल्ड्रिन पनि सतहमा उत्रिएका थिए। चन्द्रमाको सफलतापूर्वक यात्रा गरेर फर्किएपछि आर्मस्ट्रङले भनेका थिए, चन्द्रमाको सतक कोइला जस्तो कालो छ। आर्मस्ट्रङलाई लिएर उडेको यान चन्द्रमामा अवतरण हुँदा यान बसेको ठाउँ एक फिट गहिरो भएको थियो।
मानव इतिहासका लागि यो दिन विशेष मानिन्छ। आर्मस्ट्रङ चढेको यानमा जडित क्यामराले चन्द्रमाको सबै फोटो खिचेको थियो। उनले चन्द्रमाको सतहमा उत्रिने वित्तिकै एउटा फोटो लिनुको साथै त्यहाँको ढुँगाको नमुना संकलन गरेका थिए। दुबै अतंरिक्ष यात्रीले चन्द्रमामा अमेरिकी झन्डा पनि फहर्याएका थिए।
निल र एल्ड्रिनले करिब २ घण्टा ३० मिनेट चन्द्रमामा बिताएका थिए। यो ऐतिहासिक उपलब्धिलाई करिब ३ दशमलव ५ करोड मानिसले आफ्नो टेलिभिजन स्क्रिनबाट हेरेका र रेडियोबाट सुनेका थिए।
आर्मस्ट्रङले चन्द्रमामा तत्कालिन अमेरिकी राष्ट्रपति निक्सनद्वारा हस्ताक्षरित सन्देश पनि छोडेका थिए। जसमा लेखिएको थियो, चन्द्रमामा पृथ्वीबाट आएका मानवले जुलाई १९६९ मा पहिलो पल्ट कदम राखेका थिए।