टिप्पणीशनिवार, श्रावण ५, २०७५

‘मर्यादपुर बाडर’

चन्द्रकिशोर

पारिको ‘खुनवा’ सँग जोडिएकाले यो बोर्डर बजार स्थानीय जनजिब्रोमा ‘बाडर’ भनेर परिचित छ ।

तस्वीरः चन्द्रकिशोर

लोकतन्त्रीकरण र राजनीतिक परिवर्तनबारे शहरी क्षेत्रमा जतिसुकै होहल्ला होस्, गाउँ–देहातका बहुसंख्यक जनताले त्यसलाई कसरी हेरिरहेका छन् भन्ने प्रश्न अहम् हुन्छ । 

कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवा जोड्ने दक्षिणी सीमानाका ‘मर्यादपुर बाडर’ पुग्दा पछिल्लो राजनीतिक परिवर्तनका केही संकेत देखिए । यहाँ वारिपारिको सीमाबजार जोडिएकै छ र फैलिएको छ, बीचमा आँगनजस्तो ‘दशगजा’ । जहाँ एउटा अन्तर्राष्ट्रिय सीमाको जनाउ दिने अजंगको स्तम्भ छ । नेपालतिरबाट ‘प्रवेशद्वार’ पनि छ ।

त्यहीं पारिपट्टि उदास छ । अर्थात् सीमाको प्रायः शहर–बजार जस्तै यहाँ पनि पारिपट्टि कुनै ‘प्रवेशद्वार’ छैनन् । यहाँ भारतीय सशस्त्र सुरक्षा बल (एसएसबी) ले ढाट लगाएको छ । पारिको ‘खुनवा’ सँग जोडिएकाले यो बोर्डर बजार स्थानीय जनजिब्रोमा ‘बाडर’ भनेर परिचित छ ।

मर्यादपुरले गर्दा तौलिहवा चम्किने भएको छ । कारण, यो सीमान्त बजारबाट पूर्व–पश्चिम राजमार्गको दुई बिन्दु जितपुर र गोरुसिंगेलाई जोड्ने पक्की सडक नयाँ सम्भावनाको रूपमा देखिन्छ । पारिबाट बुद्धसँग जोडिएका स्थलहरू घुम्नेका लागि यो पनि एउटा सहज नाकाका रूपमा विकसित हुदै गएको छ । अझै पनि यो यशोधरा गाउँपालिकाको एउटा सीमाबजार हो, खुनवा भएर उत्तरप्रदेशको सिद्धार्थनगर जिल्लाको शोहरतगढ शहरमा नेपाली किनमेलका लागि गइराख्छन् ।

खुनवाभन्दा शोहरतगढ ठूलो बजार त हुँदै हो, त्यहाँ रेल–वे स्टेशन पनि छ । पहिला छोटीलाइन थियो, अचेल ब्रोडगेज (बडी लाइन) भएको छ । पहिले कपिलवस्तुसँग जोडिएका पहाडी जिल्लाका बासिन्दा पारि जानुपर्दा यो एक वैकल्पिक बाटो थियो । अहिले वारि र पारि पक्की सडक जोडिन पुग्दा बिस्तारै यो बजार विस्तार हुँदैछ ।

सीमानासित जोडिएका धेरै शहर–बजार, गाउँको अवस्था सन्तोषजनक छैन । तर, यो सीमान्त बजारले अहिले बाटोका कारण मौका पाएको छ । तौलिहवा जान विभिन्न वैकल्पिक सवारी–साधन पाइने हुँदा यहाँ मानिसको ओहोरदोहोर बढेको छ ।

पछिल्ला वर्षमा यो नाकाबजार गुल्जार हुँदै गएको छ । यहाँबाट सीमा पारिका सामाजिक–आर्थिक पाटाहरू पहिल्याउन सकिन्छ । भारतको सशस्त्र जवानले सिमानामा रहेका बजारबाट नेपालीले किन्ने सामान ल्याउन दिएका छन्, तर व्यापारका लागि नभएर घरगृहस्थीका लागि मात्रै । उसो त सर्वसाधारणले किनेर ल्याउने सामानको दुवैतिर कडाइका साथ जाँच गरेको पाइँदैन ।

वास्तवमा अवैध व्यापार प्रत्येक सीमा बजारको एउटा चरित्र हो, जसलाई वारि–पारिका सुरक्षा निकायले नियमन गर्न खोजिरहेका हुन्छन् । यसप्र्रति वारि र पारिका स्थानीयले एक–अर्काको सुरक्षा संयन्त्रप्रति दुःखेसो पोख्छन् । तर, सीमा व्यापार भनेकै मूल्यान्तरको व्यापार हो, जो यहाँ फापेको छ ।

चन्द्रभार कोरी नामका एक वृद्ध दलित भेटिए । उनी भन्दै थिए, “एमालेले हाम्रा लागि भत्ताको व्यवस्था गरेको छ, त्यसैले यो पार्टी त हाम्रो धर्म हो ।” मधेश आन्दोलनका क्रममा बेलाबखत यो नाकामा पनि संघर्षका गतिविधि देखा नपरेका होइनन् । यस प्रदेशका नाम चलेका मधेशी नेताहरू मातृ पार्टी छाडेर अन्यत्र लागेपछि अहिले संगठन छिन्नभिन्न भएको देखिन्छ ।

अहिलेको प्रदेश–५ मा पर्ने यो क्षेत्रमा प्रादेशिक सरकारको नेतृत्व नेपाल कम्युनिष्ट पार्टीले गरिरहेको छ । सत्तारुढ दलले यस क्षेत्रका मधेशी दलितहरूमा आफ्नो सांगठनिक सक्रियता बढाएको चन्द्रभारको भनाइबाट प्रष्टिन्छ । जहाँसम्म यशोधरा गाउँपालिकाको कुरो छ, यहाँ स्थानीय तहमा नेपाली कांग्रेसले नेतृत्व गर्ने मौका पाएको छ ।

पूर्व–पश्चिम राजमार्गस्थित गोरुसिंगेमा भेटिएका एक जना पसले, धर्मनिरपेक्ष राष्ट्रको विरोध र हिन्दू राष्ट्रको पक्षको पर्चा बाँड्दै थिए । उनी पर्चासँगै अर्ती पनि दिन्थे । यसले यो संकेत गर्छ, यहाँ भित्रभित्रै अनुदारवादीहरू आफ्ना गतिविधि फैलाउँदै छन् ।

मुस्लिम जनघनत्व पनि बाक्लो रहेको तराईको कपिलवस्तुले मिश्रित बसोबासको सुवास दिन्छ र यो जिल्ला त्यत्तिकै संवेदनशील पनि छ । विभिन्न राष्ट्रिय आन्दोलनहरूमा यस क्षेत्रका मुस्लिमको ठूलो योगदान छ । मर्यादपुरको चियाचौतारीमा भेटिएका एक जनाले कानेखुशी शैलीमा भने, “मुस्लिम समुदायमा केही मान्छे ह्वात्तै धनी भएका छन् ।” यसको संकेत हो– पारि उत्तरप्रदेशमा बढ्दो हिन्दुत्वको राजनीतिक बाछिटा बिस्तारै यता पनि पर्दै गएको छ ।

मुस्लिम समुदायबारे तर्क र तथ्यभन्दा अनुमान र अफवाहका कुरा बढी भेटियो । मर्यादपुर बाडर भएर जुन अतिवाद भित्रिंदैछ, यसले अस्थिरता निम्त्याउन सक्नेछ । यस्ता उपक्रमहरू पारिपट्टि भारतीय जनता पार्टीको उदय भएपछि बढी हुन थालेको छ । शिक्षक राजेन्द्रकुमार मिश्र भन्छन्, “जातीय विग्रह हामीतिर आउनुहुँदैन ।” सामाजिक सहिष्णुताका लागि चिनिएको कपिलवस्तुले यदाकदा सामाजिक तनाव पनि व्यहोर्दै आएको छ ।

लोकतन्त्रले मतपेटिका मार्फत सुविधाविहीनहरूलाई सत्तामा अंशियारी दिन्छ । तर, बहुतहको निर्वाचनपछि यहाँ के फेरियो त ? स्थानीय अधिकारकर्मी प्रेम जयसवाल भन्छन्, “विगतका अनेकौं खराबी अझ बढी मौलाएका छन् ।” सीमाञ्चलको सडक साइनोले यस क्षेत्रमा आशा बढाएको छ । तर, भुईं सतहको उघ्रँदै गरेको असन्तुष्टिको बिर्कोलाई प्रादेशिक सरकारले बेवास्ता गर्नुहुँदैन ।

प्रतिकृया दिनुहोस