टिप्पणीशनिवार, श्रावण ५, २०७५

कुन सम्पदालाई कति प्राथमिकता ?

वसन्त महर्जन

भूकम्पले क्षति पुर्‍याएका सम्पदालाई वर्गीकरण र प्राथमिकता निर्धारण गरी अगाडि बढेको भए पुनर्निर्माणले निश्चित दिशा लिन्थ्यो ।

१२ वैशाख २०७२ को भूकम्पले भत्किएको काष्ठमण्डपको पुनर्निर्माण अझै हुनसकेको छैन । तस्वीर: गोपेन राई

काठमाडौं उपत्यकाका सुन्दर कला र वास्तुकलायुक्त कतिपय सम्पदा अहिले बिग्रे–भत्केको र टेकोमा अडिएको अवस्थामा छन् । २०७२ को भूकम्पपछिको यो अवस्था अझ कति लम्बिने हो, टुंगो छैन । 

भूकम्पबाट कति सम्पदा जोगिए भने कतिमा पूर्ण क्षति पुगेको छ । कति सम्पदालाई सामान्य मर्मत आवश्यक छ भने कतिलाई बढी लगानी र मिहिनेत गर्नुपर्नेछ । यही २२ असारमा नेपाल प्रज्ञा प्रतिष्ठानको आयोजनामा ‘हनुमानढोका दरबार क्षेत्रका ऐतिहासिक एवं पुरातात्विक स्मारकहरूमा भूकम्प–२०७२ को प्रभाव र चुनौती’ विषयक गोष्ठी भयो, भूकम्पपछि सम्भवतः यस्तो गोष्ठी यो पहिलो हो ।

कार्यपत्र प्रस्तोता प्रा.डा. वीणा पौड्यालले ‘कुन सम्पदालाई कति प्राथमिकता दिएर अगाडि बढ्ने’ भन्ने प्रश्न राखेकी थिइन् । त्यति बेलासम्म भूकम्प र त्यसको असरबारे वस्तुगत ढंगले सोच्ने मनस्थिति बनिसकेको थिएन र प्रायः सहभागी मनोगत ढंगले बोले । कम वा बढी महत्वको भनी नछुट्याई सबै सम्पदालाई समान प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइयो । वास्तवमा यो संस्कृति र सम्पदालाई हेर्ने आदर्शवादी दृष्टिकोण मात्र हो ।

भूकम्पले क्षति पुर्‍याएका सम्पदालाई वर्गीकरण र प्राथमिकता निर्धारण गरी अगाडि बढेको भए पुनर्निर्माणले निश्चित दिशा लिन्थ्यो, व्यवस्थित पार्न पनि सकिन्थ्यो । कुनलाई कति प्राथमिकता दिने भन्नेमा मत–मतान्तर होला, तर यसबारे संवाद नै नहुनु दुर्भाग्य हो । भूकम्पमा आँखै अगाडि जनताका घर भत्के पनि फलाना–फलाना मन्दिर पनि भत्के भन्ने खबरले मात्र कतिपयलाई ठूलै भूकम्प गएको रहेछ भन्ने भएको थियो ।

काठमाडौंको मुटुमा अवस्थित ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्वको काष्ठमण्डप भत्केको खबरले जनमानसमा सन्त्रास पनि उत्पन्न गरेको थियो । पूरा काठमाडौं उपत्यकाको प्रतीक वा ‘आइकन’ का रूपमा रहेको यो सम्पदा ‘अब बन्छ त ?’ भन्ने प्रश्नमा ‘अवश्य बन्छ र चाँडै बन्छ’ भनी आश्वस्त पार्न सकेको भए अन्य सम्पदा पनि बिस्तारै बन्दै जानेमा ढुक्क हुन सकिन्थ्यो । तर, पहिलो प्राथमिकतामा राखेर थालिनुपर्ने काष्ठमण्डपको पुनर्निर्माण अझै हुनसकेको छैन ।

नढलेका, तर बिग्रेका र अहिले टेकोमा अडिएका सम्पदाहरू पुनर्निर्माणको दोस्रो प्राथमिकतामा पर्नुपथ्र्यो । यी सम्पदा अहिले यसरी राखिएका छन्, मानौं अर्को भूकम्पका लागि छुट्याइएका हुन् । श्रमशक्ति मात्रै लाग्ने र संरचनामै फेरबदल गर्नु नपर्ने भएकाले यी सम्पदा मर्मत गर्दा विवाद नआउन सक्थ्यो । दोस्रो प्राथमिकताको कार्य हुँदै गर्दा तेस्रो प्राथमिकतामा राख्न सकिने पूर्ण रूपमा भत्केका सम्पदाको अभिलेखीकरण, अध्ययन–अनुसन्धान र नापनक्शा तयार पार्ने, आवश्यक सामग्रीको जोहो गर्ने लगायत तयारी सम्पन्न हुन सक्थ्यो ।

पुनर्निर्माणमा राज्यसँग कुनै दृष्टिकोण नभएको राम्रो उदाहरण हो, सुन्धारास्थित धरहराको पुनर्निर्माणमा अनावश्यक चिन्ता । नेपाली वास्तु परम्परा विपरीतको यो धरहरा मुगल वास्तुकलाको एउटा सानो अवयव मात्रै हो, यसलाई ‘अक्कलविनाको नक्कल’ का रूपमा पनि लिन सकिन्छ । तत्कालीन राजमाता ललितत्रिपुरसुन्दरी र प्रधानमन्त्री भीमसेन थापाका नाममा दुई वटा धरहरा बनेको थियो, तर उहिल्यै भूकम्पले भत्काएको हुँदा भीमसेन थापाको नाममा रहेको पछिल्लो धरहरा मात्रै बाँकी रहन पुग्यो ।

यसको पुनर्निर्माणमा राज्य उत्साही देखिए पनि इतिहास, संस्कृतिका अध्येताले यसलाई प्राथमिकतामा राखेर हेरेका छैनन् । पछिल्लो खबरअनुसार, भत्केको धरहराको अवशेषलाई यत्तिकै राखी सो क्षेत्रमा अर्को धरहरा बनाउने योजना सार्वजनिक भएको छ ।

धरहराको अवशेषलाई सुरक्षित राखी ‘भूकम्पको स्मारक’ बनाउने सोच त बुझ्न सकिन्छ, तर त्यही ठाउँमा अर्को धरहरा किन बनाउनुपर्‍यो भन्ने सवालमा चित्तबुझ्दो जवाफ पाइन्न । दृश्यावलोकनका लागि त टावर अन्यत्र बनाउँदा हुन्छ, किनभने सो क्षेत्र अहिले अन्य संरचनाका कारण साँघुरो भइसकेको छ । यस्तो टावर अहिल्यै बनाउनुपर्ने जिद्दी कसेर बस्नु ठीक होइन ।

सम्पदा पुनर्निर्माण कार्यको वर्गीकरण र प्राथमिकता निर्धारण नहुँदा अहिले भइरहेका काम पनि देखिएको छैन, सँगसँगै विभिन्न किचलो पनि देखा पर्न थालेको छ । काष्ठमण्डप लगायत कतिपय सम्पदा पुनर्निर्माण हुन नसक्नुको कारण अर्थ अभाव नभई, कसले बनाउने भन्ने विवाद पनि हो । कहिले जनस्तरबाट पुनर्निर्माणको कुरा उठ्छ, कहिले त्यसलाई अस्वीकार गरेर महानगरपालिका अगाडि बढ्छ, तर कसैले कसैलाई विश्वास गर्ने अवस्था छैन ।

भूकम्पबाट सम्पदालगायत जनधनको क्षति भएर समाजलाई एक प्रकारको ‘दशा’ लागेको छ भने ठीक यसै बेला एक वर्गका लागि ‘दशैं’ पनि भइरहेको छ । पहुँचवाला र धूर्तहरूका लागि पुनर्निर्माण अगाडि बढ्नु र नबढ्नु दुवै फाइदाको विषय बनेको छ । पुनर्निर्माण जति लम्बिन्छ, यसका नाममा उनीहरूले त्यति नै फाइदा लिन सक्छन् । तर, कसैको ‘दशैं’ का लागि राजधानी र राजधानीका कलापूर्ण सम्पदालाई कुरुप बनाइराख्नु राम्रो होइन ।

प्रतिकृया दिनुहोस