नेपाली कप्तान पारस भन्छन्– हामी जितबाट एकदिवसीयको सुरुवात गर्न चाहन्छौं
विक्रम राई/नवीन अर्याल
नेपालले अगस्ट १ मा नेदरल्यान्ड्सविरूद्ध ऐतिहासिक एकदिवसीय खेल्दै छ। सन् १९९६ मा अन्तर्राष्ट्रिय क्रिकेट महासंघ (आइसिसी) को मान्यता पाएपछि नेपाल २२ वर्ष लामो आरोह–अवरोहलाई चिर्दै पहिलो पल्ट एकदिवसीय खेल्दै छ।
नेदरल्यान्ड्समै खेलिने पहिलो एकदिवसीयका लागि नेपाली टोली हाल लन्डनमा छ। नेपाली टोलीले लन्डनमै स्थानीय मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) र नेदरल्यान्ड्सविरूद्ध लर्ड्स मैदानमा दुई टि–२० खेल्ने छ। यसपछि नेपाली खेलाडी नेदरल्यान्ड्सतर्फ लाग्ने छन्। नेपालले अगस्ट १ र ३ मा गरेर दुई एकदिवसीय घरेलु टोलीसँग खेल्ने छ।
नेपाली क्रिकेटको यही ऐतिहासिक उपलब्धिको विषयमा लन्डन उड्नुअघि कप्तान पारस खड्कासँग हिमाल खबरले गरेको कुराकानीको सारसंक्षेपः
नेपालमा तपाई अघि ६ जना कप्तानले टिमको बागडोर सम्हाले तर, तपाई देशको पहिलो एकदिवसीय कप्तान बन्दै हुनुहुन्छ, कस्तो महशुस भइरहेको छ?
निश्चय नै, धेरै अगाडिदेखि हामीहरूको सपना थियो, एकदिवसीय राष्ट्र बन्ने। हामीभन्दा अगाडिका खेलाडीहरूले पनि धेरै मिहिनेत गर्नु भएको थियो। तर, हामी भाग्यमानी रहेछौं, यो कार्य हामी कहाँ आइपुग्दा पूरा भयो। धेरैजनाको मिहिनेत र समर्पणले गर्दा हामीले यो ‘स्टेट्स’ पाएका छौं। हामीसँग चार वर्ष रहनेछ, यो मान्यता। हरेक खेलाडीको सपना हुन्छ, एकदिवसीय खेल्ने। हाम्रो त्यो सपनासँगै नेपाली फ्यानहरूको सपना पूरा हुँदैछ। आशा छ, राम्रो नतिजा ल्याउने छौं।
नेपालले एकदिवसीय खेलेपछि हाम्रो स्तर कहाँ पुग्छ भन्ने लाग्छ?
विगतमा हामीले राम्रो प्रदर्शन गर्दै आएका छौं। अब ‘मेनेजमेन्ट’ को स्तरमा देखाउनु पर्ने बेला आएको छ। अहिले पनि (नेपाली क्रिकेटमा) विवाद छ। त्यसलाई चाँडोभन्दा चाँडो सुल्झाउनु पर्यो। हाम्रो अन्तिम गन्तब्य भनेको टेस्ट राष्ट्र बन्ने हो। टेस्ट राष्ट्र बन्न घरेलु संरचना, अन्तर्राष्ट्रिय प्रदर्शन जस्ता धेरै कुराले महत्व राख्छन्।
एकदिवसीयपछि हाम्रो लक्ष्य टेस्ट हो। अझै धेरै गर्न बाँकी छ। त्यसैले आशा गरौं हाम्रो ‘फिल्ड’ बाहिरको विवाद चाँडै सल्टियोस, जसले गर्दा मैदान भित्र र बाहिर (नेपाली क्रिकेट) उत्तिकै राम्रोसँग बढ्न सकोस्।
नेदरल्यान्ड्सविरूद्ध नेपालले २०१५ देखि अनवरत खेल्दै आएको छ, कस्तो नतिजाको आशामा हुनुहुन्छ?
पहिलो एकदिवसीय भएको हुनाले हामी जित्ने प्रयास गर्नेछौं। नेदरल्यान्ड्स पनि राम्रो टोली हो। हामीले दुई वटा एकदिवसीय खेल्ने मौका पाएका छौं। आशा गरौं आगामी दिनमा धेरैभन्दा धेरै एकदिवसीय खेल्न पाउँ। अहिलेको लागि हाम्रो ध्यान अगस्ट १ र ३ मा छ। हामी आफ्नो तर्फबाट दिलोज्यान लगाउने छौं, जित्नका लागि।
नेदरल्यान्ड्सको टिम परिवर्तन भइरहेको हुन्छ। प्रायः बाहिर बसेर खेल्ने खेलाडी छन्, यसले प्रदर्शनमा केही तलमाथि हुने सम्भावना कत्तिको छ?
विगत तीन वर्षमा उनीहरूको टिममा पनि खासै परिवर्तन भएको छैन। टिम पुरानै छ। ३–४ जना परिवर्तन भइरहन्छन्। दुवै टिमले दुवैका खेलाडीहरूको बलियो र कमजोर पक्षलार्इ चिनेका छन्। उनीहरूलाई एउटै फाइदा घरेलु मैदानमा घरेलु ‘कन्डिसन’ मा खेल्दै छन्। तर, मलाई याद छ, गत वर्ष विश्व लिग क्रिकेट खेल्दा एक खेल उनीहरूले जितेका थिए, अर्को हामीले। आशा गरौं यसपालि हामीले राम्रो प्रदर्शन गर्नेछौं।
एकदिवसीय जस्तो ठूलो प्रतियोगिताका लागि १५ दिनको तयारी पर्याप्त छ त ?
हाम्रो एउटा सोच छ। नेपाली क्रिकेटको ढाँचा कसरी परिवर्तन गर्ने भन्नेमा। क्याम्प मात्र होइन, निरन्तर रूपमा एउटा घरेलु प्रतियोगिताको संरचना हुनु पर्यो। लिग क्रिकेट हुनु पर्यो। टेस्ट खेल्ने राष्ट्रमा खासै क्याम्प हुँदैन। खेलाडीहरू विभिन्न क्लबबाट, आफ्नो क्षेत्रबाट खेलिरहेका हुन्छन। त्यो मोडलमा हामी जानु पर्छ। तयारी जति गरेपनि पुग्दैन तर यो समय, परिस्थितिमा पनि १५ दिन यहाँ (काठमाडौं) र १० दिन युके (लन्डन) मा तयारी गरेर एकदिवसीय खेल्न जादैँछौं।
नेपाली क्रिकेटको यो ऐतिहासिक अवसरमा ‘फ्यान’ हरूलाई के भन्न चाहनु हुन्छ?
म जहिले भन्ने गर्छु, (नेपाली) ‘फ्यान’ हरू हाम्रो बलियो पक्ष र हामीलाई आत्मविश्वास दिलाउने ‘फ्याक्टर’ हो। उहाँहरू जहिले पनि हाम्रो लागि प्रार्थना गर्नुहुन्छ, राम्रो प्रदर्शन गरोस् भनेर। हामीहरू सबै नयाँ करिअरको शुरुवात गर्न गइरहेका छौं, एकदिवसीय करिअर। राम्रो प्रदर्शन गर्ने हो भने आगामी दिनमा खेलाडीहरूलाई अन्तर्राष्ट्रियस्तरमा मौका खुल्दै जाने छ। त्यसैले यसमा हामीले राम्रो प्रदर्शन गर्यांै भने ठूला राष्ट्रसँग खेल्ने ढोका पनि खुल्ने छ। ‘फ्यान’ हरूलाई म भन्न चाहन्छु, हामीलाई निरन्तर माया गरिरहनु होस्, हामी सक्दो प्रयास गर्ने छौं, राम्रो प्रदर्शन गर्न वा जीतेर तपाईहरुलाई खुशी तुल्याउनका लागि।
भिडियो अन्तर्वार्ताः