छठसम्म संविधान संशोधन: प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधनको अन्तिम मस्यौदा तयारीको चरणमा रहेको बताएका छन् ।
सरकारको काम कारबाहीको रुपरेखा र भारतको गोवामा भएको ब्रिक्स बिमस्टेक आउटरिच सम्मेलनमा भाग लिने क्रममा भएका भेटवार्ता र नेपालका तर्फबाट त्यहाँ प्रस्तुत गरिएका धारणाबारेमा ३ कात्तिकमा सदनलाई जानकारी गराउने क्रममा उनले सो कुरा बताएका हुन ।
प्रधानमन्त्री दाहालले भने “नेपालको संविधान कार्यान्वयनका लागि आवश्यक कानुन बनाउने कार्यलाई सरकारले उच्च प्राथमिकता दिइएको छ, निर्वाचनसम्बन्धी कानुन र मतदाता कानुनलाई अन्तिम रुप दिने काम भइरहेको छ ।”
संविधानका अन्तरवस्तुका बारेमा फरक मत राखेर आन्दोलन र असन्तुष्ट पक्षलाई सम्बोधन गर्ने कामलाई सरकारले उच्च प्राथमिकता दिएको बताउँदै उनले भने “संविधानमा आन्दोलनरत पक्षलाई सहमतिमा ल्याएर निर्वाचनमा जाने कामलाई पहिलो प्राथमिकतामा राखेको छ ।”
प्रधानमन्त्री दाहालले आगामी छठसम्ममा संविधान संशोधन गर्ने तयारीका साथ सरकारले गृहकार्य गरिरहेको जानकारी दिदैं अलगअलग छलफल गरेर संविधान संशोधनमा सरकार केन्द्रित भएको बताए ।
राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक राखेर प्राथमिकता प्राप्त आयोजना कार्यान्वयनमा जोड दिन सम्बन्धीत पक्षलाई निर्देशन दिइएको बताउँदै उनले सो क्रममा आफूले राष्ट्रिय गौरवका आयोजनाहरु सिक्टा सिँचाइ, रानीजमरा सिँचाइ, मेलम्ची खानेपानी, बिपी कोइराला क्यान्सर अस्पतालको निरीक्षण गरेको जानकारी पनि दिए ।