डा केसीलाई भेटेपछि देउवाले भने– ‘लोकतन्त्रमा एक जना नागरिक पनि बलियो हुन्छ’
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रबार शिक्षण अस्पताल महाराजगञ्ज पुगेर अनशनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।
उनले डा केसीको स्वास्थ्य अवस्था निकै कमजोर भएका हुनाले सरकार यसतर्फ गम्भीर हुनुपर्ने बताए। पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले सरकारलाई तत्काल वार्तामा बस्न र डा. केसीको जीवनरक्षा गर्न अपील गरे।
उनले केसीको माग जायज रहेको हुनाले आफूलगायत लाखौं जनता पछाडि रहेको प्रतिक्रिया दिए। ‘लोकतन्त्रमा एक जना नागरिक पनि बलियो हुन्छ,’ देउवाले सरकारलाई ढिलो नगर्न सुझाव दिए।
कांग्रेस नेता अर्जुननरसिंह केसी र राजपा नेता महेन्द्रराय यादव, राजकिशोर यादव, अनिल झा तथा रमेश यादवले पनि अस्पताल पुगी डा केसीको स्वास्थ्य अवस्थावारे जानकारी लिएका थिए।
केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको र कुनै पनि समय समस्या आउन सक्ने बताइएको छ। डा केसीका तर्फबाट वार्ता समितिका सदस्य अधिवक्ता ओमप्रकाश अर्यालले वार्ताका सम्बन्धमा सरकारी तर्फबाट शुक्रबार पनि कुनै जानकारी नआएको बताए।
चिकित्सा शिक्षासम्बन्धी माथेमा कार्यदलले सरकारलाई बुझाएको प्रतिवेदनको मर्मअनुसारको अध्यादेश आउनुपर्ने लगायत चिकित्सा शिक्षा सुधारका माग राख्दै डा केसीले जुम्लाबाट आमरण अनशन शुरु गरेका थिए।
स्वास्थ्य जोखिममा पर्नसक्ने भन्दै सरकारले विहिबार सेनाको हेलिकप्टरमार्फत डा केसीलाई काठमाडौँ ल्याएको थियो। हाल उनी १५ औँ पटकको अनशनमा छन्। शुक्रबार अनशनको २१ औं दिन थियो।
जुम्लाबाट काठमाडौँ आएपछि डा केसीले सरकारले माग सम्बोधन नगर्दासम्म स्वास्थ्य जाँच नगर्ने, औषधि पनि नलिने र साधारण स्लाइन मात्र लिने घोषणा गरेका छन्।