‘मलेठ घटना’ मा मानवअधिकार आयोगको प्रतिवेदनप्रति राजपाको विरोध, राजविराजमा चक्काजाम
मलेठ घटनासम्बन्धी राष्ट्रिय मानवअधिकार आयोगले सार्वजनिक गरेको प्रतिवेदनप्रति राष्ट्रिय जनता पार्टी (राजपा) ले असन्तुष्टि जनाएको छ।
राजविराज नगरपालिका–९ मलेठस्थित घटनास्थल पुगेर राजपा नेपाल सप्तरी र राजपा नेपाल युवा विद्यार्थी समितिका नेता–कार्यकर्ताले शुक्रबार एक घण्टा चक्का जाम गर्नुका साथै राजविराज बजारमा प्रदर्शन गरे। २०७३ साल फागुन २३ मा एमालेको मेची–महाकाली अभियानमा अवरोध पुर्याएपछि प्रहरीको गोली लागेर तत्कालीन मधेशी मोर्चाका पाँच प्रदर्शनकारीको मृत्यु भएको थियो।
घटनाबारे आयोगले तयार पारेको प्रतिवेदन सत्यभन्दा टाढा र सत्तापक्षलाई खुशी पार्ने गरी तयार पारिएको भन्दै प्रदर्शन र चक्काजाम गरिएको राजपा महासचिव मनीष सुमनले जानकारी दिए। उनले आयोगको प्रतिवेदन सरासर गलत भएको दाबी गर्दै त्यसको पनि निष्पक्ष छानवीन हुनुुपर्ने माग राखे। संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा आन्दोलित रहेका बेला तत्कालीन नेकपा (एमाले) ले राजविराजभन्दा तीन किलोमिटर उत्तरस्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा स्थानीय तह चुनाव केन्द्रित मेची–महाकाली अभियानअन्तर्गत आमसभा गरेको थियो।
सभाको विरोधमा प्रदर्शन गरिरहेका मधेशी मोर्चाका पाँच कार्यकर्ताको प्रहरीको गोलीबाट मृत्यु भएको थियो। मलेठ घटनाको छानवीनका लागि आयोगले सोही साल चैत ३१ मा उच्चस्तरीय समिति गठन गरेको थियो। समितिमा पूर्वन्यायाधीश ताहिर अली अन्सारीको संयोजकत्वमा फरेन्सिक विशेषज्ञ डा हरिहर वस्ती, आयोगका मानवाधिकार अधिकृतद्वय मञ्जु खतिवडा र जीवन न्यौपाने सदस्य थिए।
समितिले असार ३२ मा काठमाडौँमा सार्वजनिक गरेको प्रतिवेदनमा ‘मलेठ घटनाको पनि सर्वपक्षीय विश्लेषण गर्दा फागुन २३ मा स्थानीय प्रशासन र सुरक्षा निकायको सुझाव विपरीत औद्योगिक क्षेत्रमा सभा गर्ने नेकपा (एमाले) र त्यसलाई जुनसुकै मूल्य चुकाएर भए पनि हुन नदिने वा बिथोल्न कटिबद्ध भई त्यहाँ जाइलाग्ने प्रदर्शनकारीको अगुवाइ गर्ने सप्तरी जिल्लाको मधेशी मोर्चा नै मुख्य दोषी रहेको’ भन्ने निष्कर्ष छ।