अस्पताल परिसरमा बल प्रयोग अस्वीकार्य: एम्नेस्टी
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा अनसनरत डा. गोविन्द केसीलाई ३ साउनमा जबर्जस्ती काठमाडौं ल्याउने क्रममा प्रतिष्ठान परिसरमा प्रहरीद्वारा भएको बलको प्रयोगप्रति एम्नेस्टी इन्टरनेसनल नेपालले आपत्ति प्रकट गरेको छ ।
सत्याग्रही, चिकित्सक, विरामी र सर्वसाधारण रहेको अस्पतालमा लाठीधारी प्रहरीहरू बलपूर्वक प्रवेश गरी स्वास्थ्यकर्मी र सर्वसाधारणलाई दुर्व्यवहार गर्नु अत्यन्तै दुखद रहेको एम्नेस्टी इन्टरनेसनल नेपालले जारी गरेको विज्ञप्तिमा उल्लेख ५ ।
"एक जना प्रहरीनै गम्भीर घाइते हुनेगरी र अन्य सर्वसधारणसहित २० जना डाक्टरहरू घाइते हुनेगरी अश्रु ग्याँसका साथै गोली समेत चलाएको भनिएको अनावश्यक बल प्रयोग अत्यन्तै दुःखद् कुरा रहेको छ," विज्ञप्तिमा भनिएको छ ।
अन्तर्राष्ट्रिय मानवअधिकार कानुनअन्तर्गत हरेक व्यक्तिको जीवन, स्वतन्त्रता र सुरक्षाको संरक्षण गर्ने बाध्यकारी दायित्त्व नेपाल सरकारमा रहेको र हरेक व्यक्तिको अभिव्यक्ति र विचार स्वतन्त्रताको अधिकारको सम्मान र सुनिश्चित गर्ने दायित्त्व पनि सरकारमा निहित रहेको एम्नेस्टिले सम्झाएको छ ।
एम्नेस्टि इन्टरनेसनल नेपालले नेपाल सरकारलाई बल तथा बन्दुक प्रयोगसम्बन्धी संयुक्त राष्ट्रसङ्घको आधारभूत सिद्धान्तहरूलाई पर्याप्त सुनिश्चित गर्न आग्रह पनि गरेको छ ।