मेसीसँगको प्रतिस्पर्धाको विषयमा रोनाल्डोले भने, ‘हामी दुबै उत्कृष्ट बन्न चाहन्थ्यौ’
रोमा (एजेन्सी)– पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोको युभेन्ट्स आगमनसँगै स्पेनका दुई महारथी क्लब रियल म्याड्रिड र बार्सिलोनाबीचको ‘अल क्लासिको’ भिड्न्त अब केही फिक्का हुने भएको छ।
आधुनिक फुटबलका दुई महान खेलाडी रियल म्याड्रिडका पूर्व स्ट्राइकर रोनाल्डो र बार्सिलोनाका लिओनल मेसीबीचको प्रतिस्पर्धाले ‘अल क्लासिको’ भिड्न्तलाई निकै रोचक र आकर्षक बनाएको थियो।
तर, १० करोड युरोमा म्याड्रिडबाट इटालीको युभेन्ट्स क्लबमा स्थानान्तरण भएका रोनाल्डो तथा मेसीको प्रतिद्वन्दीता अब च्याम्पियन्स लिगमा मात्र सिमित रहने छ।
करिब ९ वर्ष रोनाल्डो स्पेनिस क्लबमा आवद्ध हुँदा मेसीसँगको उनको प्रतिस्पर्धाले स्पेनिस लिगको रौनक नै बढाएको थियो। गत आइतबार टुरिनमा पत्रकार सम्मलेनमा समावेश भएका रोनाल्डोले भनेका थिए, ‘मलाई लाग्दैन खेलाडीहरू एकअर्काको प्रतिद्वन्दी हुन्छन। हो, सबै जित चाहन्छन। हामी दुबै खेल जित्नका लागि प्रयासरत रहन्थ्यौं। यो नै चुनौतिपूर्ण हो जस्तो लाग्छ। उत्कृष्ट बन्ने अभियानमा हामीबीच रोचक प्रतिस्पर्धा भने हुन्थ्यो।’
उनले मेसीसँगको प्रतिद्वन्दीतालाई लिएर सबैले कुरा गर्ने गरेको बताउँदै भने,‘निश्चय नै हामीहरू आफ्नो स्वभाविक खेल खेल्थ्यौं। सबै जना आफ्नो क्लबलाई जिताउन संर्घषरत रहन्छन नै, म पनि अरुभन्दा भिन्न छैन। अन्त्यमा कहानी हामी दुई बीच को उत्कृष्ट भन्नेमा पुगेर टुँगिन्थ्यो।’