उँभो लाग्दै पर्यटन उद्योग
महाभूकम्पबाट थला परेको पर्यटन उद्योगले क्रमशः समात्न थालेको लयले उत्थानको आशा जगाएको छ।
नेपालमा १० लाख पर्यटक भित्र्याउने लक्ष्य सम्भवतः यो वर्ष पूरा हुन्छ । जुन महीनासम्मको पर्यटक आगमनको संख्या अघिल्लो वर्षको तुलनामा १३ प्रतिशतले बढेको छ । यो वृद्धिदर कायम रहे अहिलेसम्मकै सर्वाधिक पर्यटक यो वर्ष भित्रिनेछन् ।
गत जुनसम्ममा ५ लाख २० हजार ४४ पर्यटकले नेपाल भ्रमण गरिसकेका छन् । गत वर्ष सन् २०१७ मा ९ लाख ४० हजार ६५३ विदेशी नागरिक नेपाल आएका थिए । यो संख्या २०१६ को भन्दा करीब एक चौथाइ बढी हो ।
यो आँकडाले नेपाली पर्यटन क्षेत्रको परिदृश्य बदलिन लागेको देखाउँछ । होटल एशोसिएसन अफ नेपाल (हान) का महासचिव विनायक शाह थुप्रै व्यवधानका बाबजूद पर्यटन क्षेत्रले फड्को मार्ने संकेत देखिएको बताउँछन् । उनी भन्छन्, “यसमा राजनीतिक स्थिरताले बल पुर्याएको छ ।”
अफ सिजन भनिने डिसेम्बर र फेब्रुअरीमा पनि चिनियाँ पर्यटक खचाखच हुन थालेका छन् । जूनदेखि अगस्टसम्मको वर्षे अवधिमा पनि पर्यटकको संख्या नघटेको व्यवसायीहरू बताउँछन् । स्वदेशी पर्यटकको बढ्दो संख्याले पनि पर्यटन उद्योग उत्साहित छ ।
नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाटा) का पूर्व अध्यक्ष मधुसूदन आचार्य विश्वासै नगरेको कुरा भइरहेको बताउँछन् । आन्तरिक पर्यटक वृद्धिले पर्यटन उद्योग असाध्यै उत्साहित भएको उनको भनाइ छ ।
दशक लामो माओवादी हिंसात्मक विद्रोह र त्यसपछिको राजनीतिक अस्थिरतामा बढेको बन्द–हड्तालबाट त्राण पाउन थाल्दा २०७२ वैशाखको महाभूकम्पले पर्यटन उद्योग थला पर्ने स्थितिमा पुगेको थियो ।
व्यवसायीहरू पछिल्ला दुई वर्षमा बढेको पर्यटक संख्याले उत्थानको राम्रो सम्भावना देखाएको बताउँछन् । हानका महासचिव शाह भन्छन्, “भोलिको सम्भावना हेरेर पर्यटन उद्योगमा लगानी पनि ओइरिइरहेको छ ।”
पूर्वाधारको बाधा
२०७२ को भूकम्पले थला पारेको पर्यटन क्षेत्र लयमा फर्कन थालेपछि सरकारले बजेट मार्फत सन् २०२० मा २० लाख पर्यटक भिœयाउने लक्ष्यसहितको ‘नेपाल भ्रमण वर्ष’ घोषणा गरेको छ ।
सरकारले १९९८ मा ‘नेपाल भ्रमण वर्ष’ र २०११ लाई ‘नेपाल पर्यटन वर्ष’ घोषणा गरेको थियो । भ्रमण वर्षको तेस्रो संस्करणमा २० लाख अर्थात् अहिलेभन्दा दोब्बर पर्यटक भित्र्याउने सरकारी लक्ष्य सजिलो भने नभएको व्यवसायीहरूको भनाइ छ । नाटाका पूर्व अध्यक्ष आचार्य भन्छन्, “आउँदो दुई वर्ष २० लाख पर्यटक ल्याउने पूर्वाधार र संरचना हामीसँग छैन ।”
हुन पनि, देशको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल थपिएका ठूला–साना विमानको चाप धान्न सक्ने अवस्थामा छैन । एउटा मात्रै धावनमार्ग भएको विमानस्थलबाट अहिले दैनिक ९१ भन्दा बढी अन्तर्राष्ट्रिय उडान भइरहेको छ ।
बढीमा ४० लाख अन्तर्राष्ट्रिय यात्रुलाई सुविधा दिनसक्ने क्षमता भएको मानिएको त्रिभुवन विमानस्थलले गत वर्ष ३८ लाख ८० हजारलाई सेवा दिएको थियो । अर्थात्, विमानस्थलको क्षमता ‘स्याचुरेशन’ मा पुग्दैछ ।
अध्ययन र रोजगारीका लागि विदेश जाने नेपालीको संख्या निरन्तर बढे पनि विमानस्थलको क्षमता विस्तार भएको छैन । एशियाली विकास ब्यांकको सहयोगमा करीब एक दशकअघि थालिएको विमानस्थलको क्षमता विस्तार परियोजनाले गति लिएको छैन ।
यो परियोजना सकिए ५८ लाख अन्तर्राष्ट्रिय यात्रु धान्ने आकलन छ । पर्यटन व्यवसायी आचार्य धेरै पर्यटक भिœयाउने घोषणाभन्दा विमानस्थल विस्तार र निर्माणाधीन विमानस्थलको काम सक्नेमा हतार देखाउनुपर्ने बताउँछन् ।
नेपालमा हवाई यात्रुको संख्या वार्षिक ८ प्रतिशतका दरले बढिरहेको छ । यो हिसाबले एक दशक पनि नपुग्दै हवाई यात्रुको संख्या दोब्बर हुन्छ । सरकारले सन् २०१९ भित्र त्रिभुवन विमानस्थल विस्तार र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सक्ने बताएको छ, तर त्यस अनुसारको काम भएको छैन ।
भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले वार्षिक करीब ३० लाख यात्रु धान्न सक्छ । व्यवसायी आचार्य पोखरामा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल पनि पूर्ण सञ्चालनमा आए मात्र ठूलो संख्यामा पर्यटक भित्र्याउन सकिने बताउँछन् ।
आफ्नै ध्वजावाहक विमानको अभाव अर्को समस्या हो । नेपाल वायु सेवा निगमसँग अहिले भर्खरै आएका सहित पाँच वटा जेट विमान छन् । पर्याप्त विमान नहुँदा युरोप, अमेरिका जस्ता लामो दूरीमा उडान असम्भव भएको छ ।
यसले गर्दा एकातिर आफ्नै ध्वजावाहक मार्फत पर्यटक तान्ने अवसर गुमिरहेको छ भने अर्कातिर अन्य देशका विमान कम्पनीहरूको भाडा असाध्यै महँगो भएका कारण नेपाल आउन पर्यटक निरुत्साहित भइरहेको अवस्था छ ।
चिनियाँ शहरहरूमा समेत राष्ट्रिय ध्वजावाहकको उडान नहुँदा अरूले चर्को भाडादर कायम गरेका छन् । राष्ट्रिय ध्वजावाहकले उडान गन्तव्य बढाउने हो भने भाडादर ह्वात्तै घटेर पर्यटक बढ्ने व्यवसायीहरू बताउँछन् ।
सडकहरू गतिलो र भरपर्दो नहुनु पर्यटन क्षेत्रको अर्को समस्या हो । निरन्तरको दुर्घटना, छोटो दूरी पार गर्न लामो समय लगाउनुपर्ने अवस्थाले नेपाली पर्यटन क्षेत्रको छवि धमिल्याइरहेको छ ।
केही समयअघि काठमाडौं आएकी भारतीय अभिनेत्री जुही चावलाले यहाँको सडकको दुरवस्था देखाउने तस्वीर सहित ‘समयमै कार नआएर धुलिखेल जान ढिला भएको’ कुरा ट्वीटर मार्फत सार्वजनिक गरेकी थिइन् ।
होटलमा उत्साह
सार्वजनिक पूर्वाधार दुरवस्थामा रहे पनि निजी लगानीका होटल विस्तारले पर्यटन उद्योगको उत्थानमा आशा जगाएको छ । आगामी दिनमा पर्यटक संख्या बढ्ने आकलनले होटल व्यवसायमा लगानी बढेको छ ।
विश्वस्तरीय ब्राण्डदेखि स्थानीय लगानीकर्तासम्मको ध्यान सुविधासम्पन्न होटल निर्माणमा छ । काठमाडौं, पोखरा, भैरहवा, चितवन लगायतका ठाउँमा डेढ दर्जन हाराहारी पाँचतारे होटल बन्दैछन् ।
अन्य व्यवसायमा पकड जमाएका चौधरी, गोल्छा, वैद्य लगायतका औद्योगिक/व्यावसायिक घरानाहरू समेत होटलमा लगानी गर्न तम्सिएका छन् ।
होटल व्यवसायमा १५–२० वर्ष पछाडिको सम्भावना हेरेर लगानी हुन्छ । नेपालको पर्यटन उद्योगले भोलि फड्को मार्छ भन्ने विश्वासकै कारण अहिले लगानी भइरहेको हानका महासचिव शाह बताउँछन् । उनका अनुसार, अहिले देशभर अर्बौंका होटलहरू बनिरहेका छन् ।
काठमाडौं उपत्यकामा दुई दर्जन होटल निर्माणाधीन छन् । अन्तर्राष्ट्रिय चेन ब्राण्ड मेरियट, हिल्टन, अलोफ्ट, शेराटन साझेदारीमा भित्रन लागेका छन् ।
अष्ट्रेलियाको सिल्भर हेरिटेज ग्रुपले लगानी गरेको रूपन्देहीको पाँचतारे होटल टाइगर प्यालेस रिसोर्ट भर्खरै सञ्चालनमा आएको छ । नेपाली मूलका अष्ट्रेलियाली अर्बपति शेष घलेले रु.१२ अर्ब लगानीमा ठमेलमा शेराटन होटल बनाइरहेका छन् ।
व्यवसायी पृथ्वीबहादुर पाँडेसहितको समूह ठमेलकै छायाँदेवी कम्प्लेक्समा पाँचतारे होटल सञ्चालन गर्ने तयारीमा छ । अर्का व्यवसायी शशिकान्त अग्रवालको समूह एमएसले ठमेलमै फेयरफिल्ड म्यारिओट काठमाडौं सञ्चालनमा ल्याइसकेको छ भने नक्सालमा पाँचतारे होटल बनाइरहेको छ ।
यो समूहले भक्तपुरमा पनि पाँचतारे होटल खोल्ने तयारी थालेको छ । शंकर समूहले बहुराष्ट्रिय होटल चेन ब्राण्ड हिल्टन होटल्ससँगको सहकार्यमा काठमाडौंमा पाँचतारे ‘डबल ट्री हिल्टन’ निर्माण गरिरहेको छ । त्यस्तै, चन्द्र ढकालको समूहले चन्द्रागिरी केबुलकारसँगै पाँचतारे रिसोर्ट निर्माण गरिरहेको छ ।
वैद्य अर्गनाइजेसन र गोल्छा समूहले पनि पाँचतारे होटलमा लगानी गर्दैछ । सरकारी स्वामित्वको नागरिक उड्डयन प्राधिकरणले पनि पाँचतारे होटल खोल्ने घोषणा गरिसकेको छ ।
त्यस्तै, अजयराज सुमार्गी अध्यक्ष रहेको मुक्तिश्री समूहले युरोपेली ब्राण्डसँगको सहकार्यमा पाँचतारे होटल खोल्ने घोषणा गरेको छ । सूर्य नेपाल प्रालिले पनि पाँचतारे होटल बनाउने तयारी थालेको छ । विराटनगरमा व्यवसायी मोती दुगडले पाँचतारे होटल बनाइरहेका छन् ।
लुम्बिनीमा व्यवसायी पवनकुमार हलवाईले पाँचतारे पवन होटल बनाउँदै छन् । उता नेपालगञ्जमा सोल्टी होटलले रु.४० करोडमा चारतारे होटल निर्माण गरिरहेको छ ।
चौधरी समूहले उपत्यकामा तीन वटा पाँचतारे होटल बनाउने घोषणा गरेको छ भने पर्यटन व्यवसायी आङछिरिङ शेर्पाले लैनचौरमा पाँचतारे होटल निर्माण थालेका छन् ।
यो परिदृश्य नियालिरहेका पर्यटन व्यवसायी शाह अबको पाँच वर्षमा नेपाली पर्यटन उद्योग स्वर्ण युगमा प्रवेश गर्ने देख्छन् । यसका लागि विमानस्थल सहित पूर्वाधार निर्माणलाई तीव्रता दिनुपर्ने उनी बताउँछन् । अहिले भएका होटल र होमस्टेहरूले वार्षिक २५ लाखसम्म पर्यटकलाई सेवा दिन सक्ने बताउँदै शाह भन्छन्, “निर्माणाधीन होटल सञ्चालनमा आएपछि दुई–तीन वर्षभित्रै ५–६ हजार स्तरीय कोठा थपिन्छ ।”