क्रिस्टियानो रोनाल्डो, जसको पछाडि संसार दौडिन्छ
नवीन अर्याल
सन् २०११ मा बेलायतको चर्चित पत्रिका ‘द मिरर’ ले क्रिस्टियानो रोनाल्डोलाई एउटा ठट्यौली प्रश्न सोधेको थियो, ‘तिमी फुटबल खेलाडी नभएको भए के बन्थ्यौ?’
त्यतिबेला रोनाल्डोको उत्तर थियो, ‘सायद वेटर।’
धेरैलाई अचम्म लाग्न सक्ला, रोनाल्डोको यो उत्तर सुनेर। विश्वकै महंगो खेलाडी, जसको साताको कमाइ मात्र ५ लाख पाउन्ड छ। जसलाई फेसबुक, ट्वीटर र इन्स्टाग्राम जस्ता सोसल मिडियामा १५ करोड ८० लाख व्यक्तिले पछ्याउँछन्। सन् २०१४ मा सार्वजनिक एक रिपोर्ट अनुसार उनलाई ‘पप सुन्दरी’ साकिरासँगै काँचको दुनियाँमा एक अर्ब मानिसले पछ्याउँछन्।
उनको उत्तरमा धेरै हदसम्म सच्चाइ पनि लुकेको छ। रोनाल्डो, जो भर्खरै स्पेनिस क्लब रियल म्याड्रिडबाट कीर्तिमानी १० करोड युरोमा क्लब स्थानान्तरण गर्दै इटालीको युभेन्ट्स क्लबमा आवद्ध भएका थिए। उनी साताको ५ लाख पाउण्ड पारिश्रमिक पाउने सर्तमा युभेन्ट्समा आवद्ध भएको बेलायती मिडियाहरूले बताएका छन्।
उनको बाल्यकाल पोर्चुगलको पहाडी क्षेत्र फुन्चाल नगरपालिकादेखि तीन किलोमिटर उत्तरपश्चिम पर्ने सान्टो आन्टोनियोस्थित एक गरिब बस्तीमा बितेको थियो। उनका बुबा जोजे डिनिस अभेइरो नगरपालिकामा माली थिए। आमा डोलारेस कुक थिइन, कडा स्वभावकी।
रोनाल्डोको परिवार मूलतः पश्चिम अफ्रिकी मुलुक केप भेर्डेबाट आएको हो, जसलाई विश्वको दसौं ज्वालामुखी प्रभावित देशका रूपमा चिनिन्छ। त्यो देश पहिले पोर्चुगलकै उपनिवेश थियो।
रोनाल्डोका बुबा पियक्कड मात्र होइन, फिल्मी पनि थिए। त्यसैले उनले आफ्ना कान्छा छोरा रोनाल्डोको नाम जुराएका थिए, हलिउडका स्टार नायक तथा अमेरिकी पूर्वराष्ट्रपति रोनाल्ड रेगनको अगाडिको नामबाट। उनी सानोमा आफ्ना दाजु ह्युगो र दुई दिदी इल्मा र लिलियानासँगै एउटा सानो कोठामा कोच्चिएर सुत्थे।
उनको बुबाको इच्छा थियो, पढाइ सकेर छोरा रोनाल्ड रेगनजस्तै चर्चित बनोस्।
अफसोच! जोजेको त्यो इच्छा पूरा हुन पाएन। उनले आफ्नो छोरा रेगनभन्दा चर्चित भएको हेर्न पाएनन्। कारण, रक्सीकै लतले उनको निधन भयो।
रोनाल्डो १४ वर्षको हुँदा परिवारलाई नै दुःखी तुल्याउने एउटा घटना भयो। भनिन्छ, कालान्तरमा रोनाल्डोलाई विश्व चर्चित फुटबल खेलाडी बन्ने बाटो नै यस घटनापछि तय भयो। त्यतिबेला स्कुलमा आफ्ना शिक्षकमाथि कुर्सी उठाएर फालेको आरोपमा रोनाल्डो निष्कासित भएका थिए।
धेरैपछि उनले स्पष्टीकरण दिने क्रममा भनेका थिए, ‘कक्षामा मलाई बेइज्जत गरेका कारण हिर्काएँ।’
पढाइमा रोनाल्डोको सानैदेखि खासै झुकाव थिएन। तर, उनी फुटबल भने बेजोड खेल्थे। त्यसैले आठ वर्षको उमेरमै स्थानीय एमेच्योर क्लब एन्डोरिनाबाट फुटबल खेल्न थालिसकेका थिए, जुन क्लबमा उनका बुबा मजदुरी पनि गर्थे।
स्कुलमा उनी शिक्षकबाहेक सबैका प्रिय थिए। उनी ११ वर्षको हुँदा पोर्चुगलको चर्चित क्लब स्पोर्टिङ लिस्बनको फुटबल एकेडेमीमा आवद्ध भइसकेका थिए।
त्यसैले स्कुलबाट निष्किासित रोनाल्डोलाई उनकी आमाले फुटबलमा विशेष ध्यान दिन सुझाएकी थिइन्। १५ वर्षको उमेरमा रोनाल्डोको जीवनमा फेरि अर्को दुर्घटना निम्तियो। त्यस बेला रोनाल्डो मरेर बाँचेका थिए। उनलाई सामान्य अवस्थामा पनि आवश्यकताभन्दा बढी धड्कन चल्ने मुटुको बेथाले च्यापेको थियो।
यतिबेला परिवारले मात्र होइन, उनले पनि आफ्नो फुटबल भविष्य समाप्त भएको आशंका गरेका थिए। तर, लेजरको सहयोगले मुटुको सफल शल्यक्रियपछि उनी चाँडै मैदानमा फर्किए।
खासमा रोनाल्डोको भाग्योदय त्यतिबेला भयो, जब इङ्ल्यान्डको चर्चित क्लब म्यानचेस्टर युनाइटेड लिस्बनको चर्चित फुटबल रंगशाला जोसे अल्भाल्डेको उद्घाटनका लागि सन् २००३ मा मैत्रीपूर्ण खेल खेल्न पोर्चुगल पुगेको थियो। ३–१ गोलले पराजित म्यानचेस्टरका खेलाडी रोनाल्डोको खेलबाट यति प्रभावित भए कि उनीहरूले नै म्यानचेस्टरका ख्यातिप्राप्त प्रशिक्षक एलेक्स फर्गुसनसमक्ष प्रस्ताव राखेका थिए।
त्यतिबेला इङ्लिस क्लब आर्सनल र लिभरपुल पनि रोनाल्डोको अनुबन्धनका लागि क्लबमा वातावरण मिलाइरहेका थिए।
आफ्ना स्टार खेलाडी डेभिड बेकह्यामलाई बेचेर बेलायतमा आलोचना खेपिरहेका फर्गुसनका लागि रोनाल्डो अचुक अस्त्रकै रूपमा देखा परे। त्यसैले उनले १८ वर्षको जोसिलो ठिटोका लागि करिब १ करोड ८० लाख युरो खर्चिए। त्यतिबेला रोनाल्डोलाई खर्चिएको रकमलाई लिएर फर्गुसनको ठूलो आलोचना भएको थियो।
तर, उनले आफ्नो प्रशिक्षणको लामो करिअरमा रोनाल्डोजस्तो उत्तेजक खेलाडी नदेखेको भन्दै निर्णयको बचाउ गरेका थिए।
म्यानचेस्टरमा आवद्ध हुँदा रोनाल्डो २८ नम्बर जर्सी लगाएर खेल्न चाहन्थे। तर, फर्गुसनले नै उनलाई जर्ज वेस्ट, ब्रायन रोब्सन, एरिक क्यान्टोना र बेकह्यामजस्ता हस्तीले लगाएको ७ नम्बर जर्सी लगाउन उर्दी गरेका थिए।
त्यतिबेला फर्गुसनको भनाइ थियो, ‘यसले युवा रोनाल्डोलाई उत्कृष्ट खेल्न उत्प्रेरित गर्नेछ।’ रोनाल्डोलाई ७ नम्बर जर्सी दिएको विषयमा पनि फर्गुसनको आलोचना नभएको होइन।
तर, पोर्चुगलका अर्का ख्यातिप्राप्त खेलाडी युसेबियोले फर्गुसनको बचाउ गर्दै भनेका थिए, ‘बेकह्यामको उमेरमा रोनाल्डो फुटबल खेलाडीका रूपमा मात्र परिचित रहने छैनन्। उनी महान् बन्ने अभियानमा छन्।’
नभन्दै ६ वर्ष म्यानचेस्टरबाट खेल्ने क्रममा रोनाल्डोले आफूमाथि तेर्सिएका सबै आलोचनालाई गलत साबित गरे। अझ, सन् २००९ मा स्पेनिस प्रतिद्वन्दी रियल म्याड्रिडलाई कीर्तिमानी ८ करोड स्टर्लिङ पाउन्डमा बेच्ने म्यानचेस्टरको निर्णयमाथि नै प्रश्न उठ्यो।
म्यानचेस्टरबाट खेल्ने क्रममा सन् २००८ मा रोनाल्डो पहिलोपल्ट विश्वको उत्कृष्ट फुटबल खेलाडी बने। रियल म्याड्रिड आगमनपछि उनको ख्याती झन् चुलियो। करिब ९ वर्ष म्याड्रिडबाट व्यवसायिक फुटबल खेल्ने क्रममा उनी थप ४ पल्ट विश्व उत्कृष्ट खेलाडी घोषित भए।
यस अवधिमा उनले आफू आवद्ध क्लबलाई ५ पल्ट लिग उपाधि र ५ पल्ट च्याम्पियन्स लिगको उपाधि दिलाए। उनले म्यानचेस्टरमा हुँदा इङ्लिस क्लबलाई तीन पल्ट लिग उपाधि र एक पल्ट च्याम्पियन्स लिग जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। यस्तै, म्याड्रिडमा रहँदा दुई पल्ट लिग र चार पल्ट च्याम्पियन्स लिगको उपाधि उनको खातामा थियो।
सन् २००९ मा उनी म्याड्रिडमा आवद्ध हुँदा उनलाई ट्रायलमा हेर्न ८५ हजार समर्थक स्टेडियम पुगेका थिए, जुन अर्जेन्टिनी महान खेलाडी डिएगो म्याराडोनाको भन्दा बढी थियो। सन् १९८४ मा म्याराडोना पनि इटालीको नेपोली क्लबमा आवद्ध हुँदा ट्रायलमा उनलाई हेर्न ७५ हजार समर्थक स्टेडियममा जुटेका थिए।
गत साता मात्र इटाली क्लब युभेन्ट्समा आवद्ध भएका रोनाल्डोको जर्सी २४ घण्टा भित्र ६ करोडको हाराहारीमा बिकेको छ। यसले उनको विश्वव्यापि ख्यातीलाई प्रस्फुटित गरेको छ।
फुन्चालको करिब २७ हजार जनसंख्या भएको र २२ किलोमिटर भू–भागमा फैलिएको सान्टो आन्टोनियोबाट आएका रोनाल्डोले पक्कै पनि यत्तिकै विश्व फुटबलमा धाक जमाएका होइनन्। उनको सफलताका पछाडि मिहिनेत त छँदै छ, त्याग र तपस्या पनि उत्तिकै छ। उनी अहिले पनि दैनिक तीन–चार घण्टा ट्रेनिङमा बिताउँछन्। र, उनको खान्की पनि अनुशासित छ।
उनको फुटबलप्रतिको समर्पण देखेर एकपल्ट म्यानचेस्टर युनाइटेडका प्रशिक्षक फर्गुसनले भनेका थिए, ‘ऊ मात्र एउटा यस्तो खेलाडी हो, जसको खेल हेर्न म पैसा खर्च गर्न मन पराउँछु।’
रोनाल्डोको युभेन्ट्स बसाइँ सफल बनोस्, फुटबल प्रेमीहरूको शुभकामना!