प्रम ओली भन्छन, ‘नेपाललाई शिक्षा र स्वास्थ्यको हब बनाउँछौं’
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई स्वास्थ्य र शिक्षाको ‘हब’ बनाएर विदेशबाट रकम भित्र्याउने बताएका छन् ।
गण्डकी प्रदेशको प्रदेश सभालाई आज, ३ साउनमा सम्वोधन गर्दै ओलीले नेपालमै ‘विशिष्टि खालका डाक्टर उत्पादन गर्ने समेत दाबी गरे ।
नेपालमा पढ्न नपाएर विद्यार्थी विदेश गइरहेको भन्दै प्रधानमन्त्री ओलीले थपे, “फेल भएका मात्र होइन, पास भएका पनि गएका छन्, यस वर्ष मात्र ४०० विद्यार्थी बाहिर गएका छन् ।”
उनले विदेश जाने एक जना विद्यार्थीले रु ५० लाख खर्च गर्ने र ४०० विद्यार्थीले यही दरमा खर्च गर्दा ठूलो रकम बाहिरिइरहेको बताए । उनले भने, “अब बाहिरिएको पैसा नेपाल ल्याउनुछ ।”
प्रधानमन्त्रीले नेपालमै औषधि उत्पादन गरेर पैसा विदेशिनबाट रोक्ने योजना पनि सुनाए ।
नेपालका विश्वविद्यालयहरुमा पढाउने काम मात्र भएको भन्दै उनले अब विश्वविद्यालयलाई अध्ययन् अनुसन्धानको थलो बनाउने बताए । भने, “विश्वविद्यालयमा खाली पढाउने मात्र होइन, उनले भने, दुनिया बुझ्ने रिसर्च पनि गर्नुपर्छ ।”
अर्को सन्दर्भमा उनले शान्ति प्रक्रियाका अधिकांश काम सकिएको र अब बेपत्ता छानविन र सत्य निरुपणको काम बाँकी रहेको बताएका थिए ।
नेविसंघ नेताहरु पक्राउ
प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउन तम्सिएको भन्दै प्रहरीले नेपाल विद्यार्थी संघका नेता-कार्यकर्तालाई नियन्त्रणमा लिएको छ ।
पोखराको नदीपुरस्थित प्रदेश सभाको परिसर बाहिर प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाउन लागेको भन्दै प्रहरीले नेविसंघका केन्द्रीय सदस्य भानु ढकाल, कास्कीका सभापति विकास थापा, पृथ्वीनारायण क्याम्पस इकाइका उपसभापति शेखर पौडेल, जनप्रिय क्याम्पसका सुवास अधिकारी, समित केसी लगायतलाई पक्राउ गरेको हो ।
पक्राउ परेका नेविसंघ कार्यकर्ताले प्रहरी नियन्त्रणभित्रै डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै नाराबाजी समेत गरेका थिए ।
युवराज श्रेष्ठ, पोखरा