मेसीलाई हतारमा सन्यास नलिन टेभेजको सुझाव
अर्जेन्टिनाका पूर्व स्टार स्ट्राइकर कार्लोस टेभेजले लिओनल मेसीलाई अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास नलिन सुझाव दिएका छन् र उनले अर्जेन्टिनाले आफ्नो स्टार खेलाडीका लागि थप समर्थन गर्नुपर्ने बताएका छन्।
विश्वकप अन्तर्गत फ्रान्सविरूद्ध नकआउट चरणको खेलमा ४–३ गोलले पराजय भोगेपछि अर्जेन्टिनी कप्तान मेसीले सन्यास लिने सम्भावना बढेर गएको छ। बार्सिलोना स्टारले विश्वकप अन्तर्गत ४ खेलमा एक गोल मात्र गरेका थिए।
३१ वर्षीय मेसीको अहिले राष्ट्रिय टोलीका फुटबल समर्थकसँगको सम्बन्ध पहिले जस्तो प्रगाढ छैन। यस्तो अवस्थामा मेसीले राष्ट्रिय टिमबाट सन्यास लिने सम्भावनालाई नकार्न सकिन्न। यसैले टेभेज अन्तिम निर्णय लिनुअघि मेसीलाई केही समय सोचविचार गर्न सुझाव दिन्छन्।
‘मेरो विचारमा लिओले केही समय सोचविचार गर्नु राम्रो हो,’ टेभेज भन्छन्।