कर्णाली प्रतिष्ठानका २७ विद्यार्थी घाइते, क्षति धेरै भएपछि डा केसी काठमाडौं जान तयार
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, शिक्षण अस्पताल, जुम्लामा प्रहरीले अन्धाधुन्ध लाठी प्रहार गरेपछि २७ विद्यार्थीसहित स्थानीय घाइते भएका छन् ।
प्रतिष्ठानका झ्यालको सिसा र फर्निचरहरु तोडफोड भएका छन् ।
प्रतिस्ठानमा अनशनरत डा केसीसम्म पुग्न विद्यार्थी र स्वास्थ्यकर्मीहरुले गरेको अवरोध तोड्ने क्रममा प्रहरीले लाठी चार्ज गरेपछि क्षति पुगेको हो ।
कमल नाम गरेका एकजना युवा रवरको गोली लागेर गम्भीर घाईते भएका छन् । त्यसैगरी प्रहरीले चलाएको गोली छातीमा लागेर एक जना सादा पोशाकका प्रहरी पनि घाइते भएको विद्यार्थीहरुको दाबी छ भने ती प्रहरीलाई गोली लागेको नभई छातीमा सिसा गडेर घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइतेहरुको प्रतिस्ठानकै आकस्मिक कक्षमा उपचार भइरहेको छ ।
केसी काठमाडौं जान तयार
यसैबीच डा केसीले हिंसा बढ्न थालेको भन्दै आफू काठमाडौं जान तयार भएको बताएका छन् ।
केसीले पत्रकार सम्मेलन गरेर अस्पतालमा क्षति भएको, विद्यार्थीहरु घाइते भएका कारण आफू काठमाडौं जान तयार भएको बताए ।
उनले जुम्लाले आफूलाई गरेको सहयोग अविस्मरण्ीय रहेको भन्दै जहाँ गए पनि आफ्नो सत्याग्रह जारी रहने बताएका छन् ।
जुम्लाबाट नेत्र शाहीको सहयोगमा