प्रहरीद्वारा जुम्लामा अस्पताल परिसरभित्रै अश्रुग्यास प्रहार, स्वास्थ्यकर्मीहरु समेत घाइते
प्रहरीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठान परिसरभित्रै लाठी र अश्रुग्यास प्रहार गरेपछि स्वास्थ्यकर्मी, विद्यार्थी र डा केसीका समर्थकहरु घाइते भएका छन् ।
२० दिनदेखि अनशनरत डा गोविन्द केसीलाई उनको सहमति बिना नै काठमडौं ल्याउन पुगेको प्रहरीलाई अस्पतालभित्र प्रवेश गर्नबाट विद्यार्थी, स्वास्थ्यकर्मी र स्थानीयले अवरोध गरेपछि प्रहरीले अन्धाधुन्द लाठी चार्ज गर्नुका साथै अश्रुग्यास प्रहार गरेको हो ।
“स्थिति तनावपूर्ण छ, चिकित्सक, नर्स, विद्यार्थी घाइते भएका छन्, एकजना प्रहरी पनि घाइते भएको खबर आएको छ,” जुम्लाका पत्रकार नेत्र शाहीले भने ।
प्रहरीले लाठी र अश्रुग्यास प्रहार गरेर भीडलाई तितर वितर पारेर अस्पतालभित्र प्रवेश गरेको छ ।
काठमाडौं जान्छुः डा केसी
सरकारले अस्पतालभित्रै चिकित्सक, स्वास्थ्यकर्मी र विद्यार्थीहरुमाथि दमन शुरु गरेपछि डा गोविन्द केसीले आफू काठमाडौं जान तयार भएको बताएका छन् ।
डा केसीको अभियानमा सहभागी पृतम सुवेदीका अनुसार सरकारले अस्पतालभित्रै नागरिकमाथि दमन शुरु गरेको र हिंसा बढ्ने देखिएपछि अवस्था सामान्य बनाउन डा केसी काठमाडौं जान तयार भएका हुन् ।