देशभरका अस्पतालमा उपचार प्रभावित
आकस्मिक बाहेकका सबै सेवा ठप्प पार्ने नेपाल चिकित्सक संघको निर्णय अनुसार आज देशभरका अस्पतालमा उपचार प्रभावित भएको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा अनशनरत डा. गोविन्द केसीको जीवनरक्षाका लागि सरकारलाई दबाब दिन नेपाल चिकित्सक संघले आज देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा ठप्प पार्ने निर्णय गरेको हो ।
काठमाडौंको वीर अस्पतालमा कार्यरत डा. कालुसिंह खत्रीका अनुसार अस्पतालको आकस्मिक बाहेकका सबै सेवा बन्द छन् । उनका अनुसार अहिले सबै चिकित्सकहरु अस्पताल परिसरमा आन्दोलनरत छन् ।
महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा पनि आकस्मिक बाहेकका सबै सेवा बन्द छन् । चिकित्सकहरुका अनुसार सेवा बन्द भएको थाहा पाएर बिरामी उपचार गर्न नआएपछि शिक्षण अस्पताल परिसरर सुनसान छ ।
शिक्षण अस्पतालका एक चिकित्सकका अनुसार अस्पतालले बिरामीलाई ओपीडीको टिकट नदिएकाले बिरामीको उपचार हुन सकेको छैन ।
धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले भने उपचारका लागि अस्पताल पुगेका बिरामीलाई आकस्मिक बाहेकका सेवा पनि दिइरहेको छ ।
त्यहाँ कार्यरत एक चिकित्सकहरुका अनुसार अस्पतालको सबै विभागमार्फत उपचार भइरहे पनि कतिपय चिकित्सक अस्पतालमा उपस्थित भएका छैनन् ।
रुपन्देहीको बुटवल क्षेत्रका अस्पतालमा पनि बन्दको प्रभाव परेको छ । आम्दा अस्पताल बुटवलमा कार्यरत एक चिकित्सकका अनुसार सरकारी अस्पतालले बिरामीलाई सबै सेवाको टिकट दिए पनि डाक्टरले भोली हेर्ने भनेर उपचार गर्न अस्वीकार गरेका छन् ।
बुटवलमा केही अस्पतालले उपचार सेवा दिए पनि अधिकांशले आकस्मिक बाहेको सेवा बन्द गरेका छन् ।
अर्घाखाँची जिल्ला अस्पतालले बिहानसम्म उपचार गर्न आएका बिरामीलाई सेवा दिएर पठाएको छ । त्यस अस्पतालमा कार्यरत एक चिकित्सकका अनुसार चिकित्सक संघले बन्द गर्न निर्देशन दिएको विषयमा अहिले चिकित्सक र अस्पताल प्रशासनबीच छलफल भइरहेको छ ।
अस्पतालमा कार्यरत ती चिकित्सक भन्छन्, “यस क्षेत्रमा जिल्ला अस्पताल बाहेकका अन्य अस्पताल नभएकाले उपचार गर्न आएका बिरामी फिर्ता पठाउन सकिएको छैन ।”
बुधबार राजधानीमा पत्रकार सम्मेलको आयोजना गरेर नेपाल चिकित्सक संघले चिकित्सा शिक्षा सुधारका माग सहित २० दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य स्थिति नाजुक बनेको र उनको जीवनरक्षाका निम्ति सरकार गम्भीर नबनेको भन्दै स्वास्थ्य संस्था ठप्प पार्ने निर्णय गरेको थियो ।