डा गोविन्द केसीलाई काठमाडौं ल्याउन सेनाको हेलिकप्टर जुम्लामा, विद्यार्थीको प्रतिकार
जुम्लामा अनशनरत डा गोविन्द केसीलाई काठमाडौं ल्याउनका लागि प्रहरीले हस्तक्षेप गरेपछि स्थानीय विद्यार्थीहरुले प्रतिकार गरेका छन् ।
उनलाई लिन सरकारले पठाएको सेनाको हेलिकप्टर जुम्ला पुगेलगत्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठानमा अनशनरत डा केसीलाई उठाउने प्रयासमा रहेको प्रहरी विद्यार्थीको प्रतिरोधपछि बाहिर निस्किएको छ ।
हेलिकप्टरमा कर्णालीका मुख्यमन्त्री र कानूनमन्त्री पनि जुम्ला पुगेका छन् । अस्पताल हाताभित्र पस्न उनीहरुलाई पनि विद्यार्थी र डा केसीका समर्थकले रोक लगाएका छन् ।
प्रतिस्ठान पुग्ने सबै नाकामा बसेर विद्यार्थीहरुले अवरोध गरिरहेका छन् । अहिले जुम्लाको अवस्था तनावग्रस्त छ ।
‘अभियान तुहाउने प्रयास’
उता डा केसीले आफू काठमाडौं नजाने भन्दै सरकार आफ्नो अभियान तुहाउने प्रयासमा उत्रिएको आरोप लगाएका छन् ।
पत्रकार र समर्थकहरुमाझ उनले भने, “सरकार मलाई जबर्जस्ती काठमाडौं लैजाने प्रयासमा छ, हाम्रो अभियान तुहाउने प्रयत्न गर्दैछ भन्ने सुनेको छु । यदि राज्य मेरो स्वास्थ्यप्रति चिन्तित् छ भने मेरो माग पूरा गर्नेतिर लाग्नु पर्यो ।”
उनले आफ्नो माग पूरा नभएसम्म सत्याग्रह जारी राख्ने बताएका छन् ।