गुगलमाथि करिब ५ अर्ब डलर जरिवाना
युरोपेली संघले एन्ड्रोयड प्रणालीको दुरुपयोग गरेको आरोपमा गुगललाई करिब पाँच अर्ब डलर जरिवाना सुनाएको छ। गुगलले खुला अर्थतन्त्रमा प्रतिस्पर्धा प्रावधानको उल्लंघन गरेको आरोप लगाउदै युरोपेली संघले बुधबार जरिवाना लगाउने निर्णय गरेको हो।
युरोपेली संघले कुनै पनि कम्पनीलाई यति ठूलो मात्रामा पहिलो पल्ट जरिवाना गर्ने निर्णय गरेको हो। संघकी प्रतिस्पर्धा आयुक्त मार्गरेट वेस्टगरले गुगुलले आफ्नो ब्राउजर र सर्ज इन्जिनका लागि बजार विस्तार गर्न एन्ड्रोयडको प्रभावलाई गलत ढंगले प्रयोग गरेको बताएकी छिन्।
युरोपेली संघले तीन वर्ष लामो अनुसन्धानपछि गुगललाई जरिवाना गर्ने निर्णय सुनाएको हो। अमेरिकाले इस्पात र आल्मुनियम सामग्रीमा शुल्क लगाउने निर्णय गरेको केही समय नबित्दै यो निर्णय सार्वजनिक भएको हो। इस्पात र अल्मुनियममा शुल्क निर्धारण गर्ने विषयमा हाल अमेरिका र युरोपेली संघबीच विवाद चलिरहेको छ।
वेस्टगरले पत्रकार सम्मेलनमा भनिन्, ‘युरोपेली संघले प्रतिस्पर्धा नियम उल्लंघनलाई लिएर गुगलमाथि ४ दशमलव ३४ अर्ब युरो जरिवाना लगाउने निर्णय भएको छ।’
इन्टरनेट सर्चमा आफ्नो उपस्थितिलाई बलियो बनाउन गुगल गैरकानुनी गतिविधिमा संलग्न पाइएको उनले बताइन। ‘गुगलले ९० दिन भित्र आफ्नो गतिविधि बन्द गर्नुपर्ने छ। नभए उसले दिनको औसत राजस्वको पाँच प्रतिशत जरिवाना तिर्न तयार हुनुपर्ने छ,’ उनले भनिन्।
सन् २०१७ मा पनि गुगललाई खरिदको एउटा मुद्धामा युरोपेली संघले २ दशमलव ४ अर्ब डलर जरिवाना गरेको थियो। गुगल प्रवक्ता अल वर्नीले युरोपेली संघको निर्णयविरूद्ध कम्पनीले अपील गर्ने बताएका छन्। ‘एन्ड्रोयडले मानिसका लागि धेरै मौका सिर्जना गरेको छ। कम गरेको छैन,’ उनले भने।