नेपालको ऐतिहासिक एकदिवसीय क्रिकेटमा प्रशिक्षक टमाटाको अनौठो संयोग
विक्रम राई
नेपालले अगस्ट १ मा ऐतिहासिक पहिलो एकदिवसीय नेदरल्यान्ड्सविरूद्ध खेल्दै छ। केही महिनाअघि एकदिवसीय क्रिकेटको मान्यता पाएपछि नेपालले अगस्ट १ र ३ मा नेदरल्यान्ड्ससँग उसैको घरेलु मैदानमा दुई वटा एकदिवसीय खेल खेल्न लागेको हो। यसका लागि नेपाली राष्ट्रिय क्रिकेट टिम विहिबार बेलायतको लन्डनतर्फ लाग्दै छ।
लन्डनमा नेपालले २९ जुलाईमा त्यहीको स्थानीय मेरिलेबोन क्रिकेट टिम (एमसिसी) र नेदरल्यान्ड्स टिमसँग एकै दिन दुई वटा टि–२० खेल खेल्ने कार्यक्रम छ। यसपछि ३० जुलाईमा नेपाली टोली नेदरल्यान्ड्सतर्फ लाग्ने छ।
नेपाली टोलीमा एक यस्ता सदस्य उपस्थित छन्, जो नेपालको अन्तर्राष्ट्रिय क्रिकेटको एक्लो साक्षी बन्दै छन्। सन् १९९६ मा नेपालले पहिलो अन्तर्राष्ट्रिय क्रिकेट मलेसियामा खेल्दा उनी राष्ट्रिय टोलीमा स्पिनरको भूमिकामा संलग्न थिए। पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको नेपाल २२ वर्षपछि एकदिवसीय खेल खेल्दै छ। यतिबेला उनी प्रशिक्षकको भूमिकामा छन्।
यही अवसरमा हिमाल खबरले राष्ट्रिय टोलीका उनै प्रशिक्षक जगत टमाटासँग गरेको विशेष अन्तर्वार्ताको सारसंक्षेप
सन् १९९६ मा नेपालले पहिलो अन्तर्राष्ट्रिय खेल खेल्दा तपाई नेपाली टिममा खेलाडीको रुपमा समावेश हुनुहुन्थ्यो। २२ वर्षपछि नेपालले एकदिवसीय मान्यता पाउँदा प्रशिक्षकको भूमिकामा नेपाली क्रिकेटसँग जोडिनु भएको छ। यो उपलब्धिलाई कुन रुपमा लिनु भएको छ?
सर्वप्रथम त म सबैलाई धन्यबाद भन्न चाहन्छु। २२–२३ वर्षको यात्रा धेरै लामो हुन्छ। त्यो समयमा खेल्दै आज आफूलाई ओडिआई (एकदिवसीय) प्रशिक्षक, त्यो पनि नेपाली हुन पाउँदा निकै खुसी लागेको छ। म आफ्नो खेलाडीलाई धन्यबाद भन्न चाहन्छु, जसले मलाई सहयोग र समर्थन गरे।
१९९६ देखि नेपालमा ६ विदेशी प्रशिक्षकको प्रयोग भयो। पुबुदु दासनायके गइसकेपछि २०१५ यता तपाई राष्ट्रिय टोलीको प्रशिक्षक हुनुहुन्छ। यसलाई कसरी हेर्नु भएको छ?
मैले ६ जनै प्रशिक्षकसँग काम गर्ने मौका पाए। नेपाली क्रिकेटलाई यहाँसम्म पुर्याउन उहाँहरूको ठूलो योगदान छ। २०१४ मा हामीले पुबुदु दासनायकेको प्रशिक्षणमा टि–२० विश्वकप खेल्यौं, यसपछि नेपाली क्रिकेट माथि आएको थियो। त्यसैले म सबैलाई धन्यबाद भन्न चाहन्छु। २०१६ मा बंगलादेशमा भएको युथ–१९ विश्वकप टोलीलाई पहिलो पल्ट मैले हेरेको थिए। यतिबेला नेपाल सुपर–८ मा प्रवेश गर्यो। यस अघिसम्म नेपाली प्रशिक्षकले गर्न सक्छ कि सक्दैन भन्नेमा शंका थियो। तर, खेलाडीहरुको सहयोग र समर्थनले प्रशिक्षण गर्ने मौका पाए। आज एकदिवसीय खेल्दै छौँ।
एकदिवसीय खेल्ने टिम कस्तो छ?
राम्रो छ। ब्यालेन्स छ। यसमा युथ–१९ को भाईहरू पनि छन्। सिनियर पनि छन्। टिमभित्र प्रतिस्पर्धाको भावना छ। खेलाडीहरू अनुशाषित छन्।
एकदिवसीय खेल्ने कुराले कत्तिको उत्साही छ, टिम?
सबै जना उत्साही छन्। खेलाडी मात्र होइन, म पनि। पहिलो पल्ट एकदिवसीय खेल्न जाँदै छौ। सबैभन्दा ठूलो कुरा नतिजा हो। सबै खेलाडीले क्षमताअनुरुप प्रदर्शन गर्नेपर्छ। सबै जना राम्रो प्रदर्शन गर्न ब्यग्र पनि छन्। यसका लागि मिहिनत पनि गरेका छन्। टिममा लामो समयदेखि खेलिरहेका अनुभवी खेलाडी पनि संलग्न छन्। उनीहरूमा अर्के ‘फिलिङ’ छ।
नेदरल्यान्ड्सको पीच प्रायः सिम बलरलाई मद्धत गर्ने खालको छ। हामीसँग स्पिन अट्याक बलियो छ। यसले केही असर त पार्दैन नी?
हाम्रो यहाँको ट्रयाक स्लो भएको हुनाले स्पिनर बढी जन्मिए। हाम्रो बलियो पक्ष पनि स्पिनर हो। तर, हामीसँग मध्यगतिको तीब्र बलर र सिम बलर पनि छन्। जस्तो सोमपाल, करन र ललित छन्। राम्रो गरिरहेका छन्। तर, विकेट लिने नलिने खेलमा निर्भर पर्छ। हामीसँग सन्दीप लामिछानेको रुपमा बलियो स्पिनर छन्। उनले अन्तर्राष्ट्रिय रुपमै छवी छोडेका छन्। उनको उपस्थितिमा विपक्षीलाई दबाब पर्न सक्छ।
सन्दीप लामिछानेको प्रदर्शनलाई कसरी हेर्नु भएको छ?
अनुशाषित खेलाडी हुन्। जुन प्रकारले उनले आफूलाई खेलमा ढाले त्यो निकै सह्रानीय विषय हो। २०१५ को छनोटमा उनी चितवनबाट काठमाडौं आउँदा टिममा पर्न सकेनन्। यसपछि उनले धेरै मिहिनत गरे। २०१६ मा बंगलादेशमा भएको युथ–१९ विश्वकपमा स्थान बनाउन सफल भए। विगत हेरेनन्। एकपछि अर्को गर्दै उत्कृष्ट प्रदर्शन गरे। आइपिएलको प्रदर्शनले उनले सबैको मन जितेका छन्।
एकदिवसीय जस्तो ठूलो प्रतियोगिताका लागि १५ दिन मात्र अभ्यास गर्नुभयो। समय थोरै भएन?
सबै खेलाडीले अनवरत रुपमा डिभिजन २, क्वालिफायर र डिपिएल खेलेका थिए। केही दिन अपर्याप्त पक्कै हो। अझ एक साता भएको भए राम्रो हुन्थ्यो।
पहिले भारतबाट व्याटिङ कन्सल्टेन्ट आउँथे, यसपालि आएनन?
हामीले बोलाएका थियौं। तर, उनीहरूले समय निकाल्न सकेनन्। उनीहरू व्यवसायिक छन्। पहिले डिभिजन २ र क्वालिफायरमा थिए।
कुन खेलाडीबाट बढी आशावादी हुनुहुन्छ?
टिममा सबै खेलाडी उत्तिकै महत्वपूर्ण छन्। सबैभन्दा महत्वपूर्ण कुरा प्रदर्शन हो। सबैले मिहिनत गरेका छन्। आफ्नो जिम्मेवारी सबैलाई थाहा छ। सन्दीप, पारस, ज्ञानेन्द्र, सरदले आफ्नो हिसाबले राम्रो प्रदर्शन गरेका छन्। युवा खेलाडीले पनि सबैको मन जितेका छन्।
भिडियो अन्तर्वार्ताको पूर्ण अंशः