त्रिशूलीमा बस खस्दा एकको मृत्यु, नौ गम्भीर घाइते, एक बेपत्ता
चितवन, ३ कात्तिक । काठमाडाँबाट भैरहवा जान आउँदै गरेको लु १ ख ७३९१ नंको बस नारायणगढ–मुग्लिन सडकखण्डको दाहाखानी–६ को रिद्धिखोलानजिकै त्रिशूली नदीमा खस्दा नौजना गम्भीर घाइते, एकको मृत्यु र एकजना बेपत्ता भएका छन् ।
इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक योगेन्द्रबहादुर हमालका अनुसार २ कात्तिक साँझ भएकाे दुर्घटनामा परेर गम्भीर घाइते नाै जनालाई उपचारका लागि भरतपुर पठाइएको छ । करिब ३२ वर्षीय पहिचान नखुलेका एकजनाको भरतपुरतिर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये आठजनाको कलेज अफ मेडिकल साइन्सेज भरतपुर र एकजनालाई राति नै थप उपचारका लागि काठमाडौँ लगिएको प्रहरीले जनाएको छ ।
बसमा चालक तथा सहयोगी समेतगरी जम्मा ११ जना यात्रु सवार रहेकामा एकजना बेपत्ता भएका छन् ।
यसैबीच, नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चण्डीभञ्ज्याङ–६ कालीखोलामा आज बिहान सवा १ बजे अज्ञात सवारी साधनले ठक्कर दिँदा एक युवतीको मृत्यु भएको छ ।
अन्दाजी १८ वर्षीया ती युवतीको पहिचान खुल्न नसकेको र सवारीसाधनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।रासस