कांग्रेसद्वारा सडक आन्दोलन घोषणा
नेपाली कांग्रेसले सरकारका पछिल्ला निर्णय र गतिविधिका विरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
डा गोविन्द केसीसँग भएको सम्झौता अनुसारको चिकित्सा विधेयक संसदमा नल्याएको विरोधमा संसद अवरोध गरिरहेको कांग्रेसको आज १ साउन विहान बसेको पदाधिकारी बैठकले ३ साउनदेखि आन्दोलन गर्ने घोषणा गरेको हो।
डा केसीको मागलाई केन्द्रविन्दुमा राखेर कांग्रेसले सडक आन्दोलनको घोषणा गरेको हो ।
बैठकले ३ साउनमा संघीय संसद र सातवटै प्रदेशसभाका बैठक अवरुद्ध गर्ने र त्यही दिन प्राध्यापक संघ र नेपाल चिकित्सक संघको नेतृत्वमा संयुक्त जुलुश प्रदर्शन गर्ने निर्णय गरेको छ।
५ गते तरुण दलको नेतृत्वमा राजधानीमा प्रदर्शन गर्ने, ६ गते बीपी दिवसका अवसरमा सरकारका क्रियाकलापलाई लिएर काठमाडौंमा अन्तरक्रिया गर्ने, ८ गते भक्तपुर, ललितपुर र काठमाडौं प्रदर्शन गर्ने र १५ गते ७७ जिल्लाकै सदरमुकाममा एकसाथ संयुक्त प्रदर्शन गर्ने निर्णय कांग्रेसले गरेको छ।
सरकार जनवादी केन्द्रियताको शैलीमा अघि बढेको ठहर समेत कांग्रेसले गरेको छ।