आर्थिक वर्षको पहिलो दिन खुम्चियो शेयर बजार, अनलाइन प्रणाली शुरु
आर्थिक वर्ष २०७५/७६ को पहिलो दिन मंगलबार शेयर बजार परिसूचक नेप्से ८ दशमलव ०५ अङ्कले ओरालो झरेको छ ।
३२ असारमा दोहोरो अङ्ले बढेको नेप्से आज घटेर १२०४ दशमलव ३१ विन्दुमा ओर्लिएको हो । ब्यापार, वित्त र अन्य उपसमूहबाहेक सबै उपसमूह ओरालो लागेका छन् ।
ब्यांकिङ, जलविद्युत र निर्जीवन बीमा समूहका सूचक क्रमशः ४ दशमलव ७७, ३९ दशमलव २५ र ८७ दशमलव ६७ अङ्कले घटे । त्यसैगरी, जीवन समूह बीमा ७४ दशमलव ११, उत्पादनमूलक समूह ३५ दशमलव ६६ तथा लघुवित्त १३ दशमलव ३२ अङ्कले घटे ।
नेप्सेले आजबाट बीमाको उपसमूहलाई जीवन र निर्जीवन गरी छु्टाछुट्टै बनाएको छ ।
मंगलबार सबैभन्दा धेरै नबिल ब्यांकको रु. ५ करोड ८१ लख ८३ हजार बराबरका शेयर किनबेच भए । रैराङ जलविद्युत कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै ६ दशमलव ७६ प्रतिशत कमाए भने, बोटलर्स नेपाल (तराई) का लगानीकर्ताले सबैभन्दा धेरै ५ दशमलव ८२ प्रतिशतले गुमाए ।
मंगलबार नेप्सेमा रु. २० करोड ६० लाख मूल्य बराबरका ५ लाख १४ हजार १६१ कित्ता शेयरको किनबेच भयो । आजबाट नेप्सेमा परीक्षणका रुपमा अनलाइन शेयर खरिदविक्रीको कारोबार पनि शुरु भएको छ । लामो समयदेखि प्रतीक्षा गरिएको अनलाइन प्रणाली कार्यान्वयनमा आएपनि लगानीकर्ता उत्साहित देखिएनन् ।