‘डा. केसीलाई काठमाडौं ल्याउने बाहेक अरु कुरा गर्न चाहँदैन सरकारी वार्ता टोली’
अनशनरत डा. गोविन्द केसीका प्रतिनिधि र सरकारी वार्ता टोलीबीच भएको वार्ता विना निस्कर्ष टुंगिएको छ ।
डा. केसीका तर्फबाट वार्तामा सहभागी अधिवक्ता ओमप्रकाश अर्यालका अनुसार सरकारी वार्ता टोली मुख्य मुद्दामा प्रवेश गर्न नचाहँदा वार्ता निस्कर्ष विहिन भएको हो ।
“सरकारी टोलीका सदस्यहरु डा. केसीलाई जुम्लाबाट हेलिकप्टरमा काठमाडौं ल्याउने बाहेका अरु विषयमा कुरा गर्न आफुसँग म्यान्डेट नरहेको बताइरहेका छन् त्यसैले थप मुद्दामा वार्ता प्रवेश गरेन,” अधिवक्ता अर्यालले भने ।
डा. केसीले अघि सारेका मागहरु राजनीतिक भएको भन्दै सरकारले गठन गरेको टोलीका सदस्यले त्यस विषयमा डिल नगर्ने अडान लिएकाले थप कुरा नभएको उनले बताए ।
शिक्षा मन्त्रालयमा साढे नौ बजदेखि शुरु भएको वार्ता अपराह्न साढे एक बजेसम्म चलेको थियो ।
उता, डा. केसीको स्वास्थ्य अवस्था निकै जटिल बनेको छ । तर पनि उनी आफ्ना माग पूरा नभएसम्म अनशन नतोड्ने अडानमा छन् ।
दुई पक्षबीच फेरि कहिले वार्ता गर्ने भन्ने पनि एकिन भएको छैन ।
सरकारी वार्ता टोलीको संयोजकमा शिक्षा सचिव खगराज बराल र गृह मन्त्रालयका सह सचिव केदार न्यौपाने र स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. गुणराज लोहनी सदस्य छन् ।
यस्तै डा. केसी पक्षको वार्ता टोलीमा डा. अभिषेकराज सिंह, अधिवक्ता सुरेन्द्र भण्डारी र अधिवक्ता ओमप्रकाश अर्याल छन् ।