ब्लगमंगलवार, श्रावण १, २०७५

जापानमा साइकल सरर

मुकेश पोखरेल

जापानका शहरमा साइकलका लागि बेग्लै लेन, सफा सडक, अनुशासित यात्री साइकल जती कुदाए पनि थकाई नलाग्ने ।

२३ अप्रिल २०१८ साँझ ५ः३० बजे जापानको फुकुवका विमानस्थलमा अवतरण नगर्दासम्म यात्रा निकै पट्यारलाग्दो थियो । चीनको कुन्मिङमा १८ घण्टाको ट्रान्जिट, अध्यागमनको झण्झटिलो प्रक्रियाले झनै सकस थप्यो ।

सामाजिक सञ्जाल र अनलाइन समाचार हेरिरहने बानी परेको मलाई दुई दिनसम्म यि सबैबाट टाढा हुँदा दिग्दार लागिरहेको थियो । जसै जापान प्रवेश गरें मेरो तनाव दूर भयो । बेलुका ५ः३० भएको थियो विमानस्थलबाट बाहिर निक्लँदा । मलाई यामागुची पुग्नु पर्ने भए पनि कुनै हतार गरिएन । मजाले फोटो खिचें, केही अनलाइन न्यूज पोर्टल चाहारें, ट्वीटरमा यताउती गरें । झमक्कै भइसकेछ । अब यामागुची जान बस पाउने सम्भावना थिएन ।

सोध्दैसोध्दै हाकाता रेल स्टेशनसम्म पुगें । थाहा भयो, यामागुची पुग्ने एउटा सजिलो विकल्प प्रतिघण्टा ४०० किलोमिटरको गतिमा कुद्ने वुलेट ट्रेन (सिनगान्सेन) रहेछ । ४० मिनेटको यात्राका लागि रु. ५ हजार ५०० को टिकट लिएँ । तर, जति खोजे पनि रेल चढ्ने ठाउँ भेटाउन सकिएन ।

एक हुल विद्यार्थी भेटिए, हामीले एकअर्काका कुरा बुझ्न नसकेपछि उनीहरुले मलाई एकजना सुरक्षाकर्मीको जिम्मा लगाए । सुरक्षाकर्मीले लिफ्टबाट तीनतला माथि ट्रेन चढ्ने ठाउँसम्म पुर्‍याएइदिए । तर पनि बुलेट ट्रेन चढ्ने कसरी अन्यौलमै थिएँ । नजिकै उभिएका एक पाको उमेरका व्यक्तिलाई सोधें, संयोगले उनको र मेरो गन्तव्य एउटै रहेछ । अब मलाई कुनै चिन्ता थिएन ।

 प्राध्यापक नगानो सिन्जी मोबाइलमा नेपालका हिमाल देखाउँदै ।

नगानो सिन्जी प्राध्यापक रहेछन्, चार वर्षअघि नेपाल घुमेर फर्केका । नेपालका हिमशृंखला, काठमाडौंको बौद्ध र पाटन लगायत विभिन्न ठाउँका तस्वीर मोबाईलमा देखाउन थाले । बाटो कटेको पत्तै भएन ।

मित्र श्रीधर गौतम स्टेशनमा पहिल्यै आइसकेका रहेछन् । यामागुचीको इसिदा अपार्टमेन्टमा पुग्दा रातको ९ बजिसकेको थियो । भोलिपल्ट ब्यूँझिदा बाहिर उज्यालो थियो । घडी हेरें रातिको ३ बजेको छ । घडी विग्रियो कि यहाँ यस्तै हो कि केही बुझिएन फेरि सुतें । विहान मित्र गौतमले भने, ‘जापानमा सूर्योदय चाँडै हुन्छ ’।

सोह्र वर्षपछि साइकल
वुटवल बहुमुखी क्याम्पसमा आईए पढ्दा दुई वर्ष साइकल चलाएको थिएँ । त्यसपछि १६ वर्षसम्म साइकलसँग टुटेको नाता जापानमा जोडियो । चार दिन यामागुची बस्दा सकेसम्म साइकलमै यात्रा गरें, क्या आनन्द ।

साइकलका लागि बेग्लै लेन, सफा सडक, अनुशासित यात्री साइकल जती कुदाए पनि थकाई नलाग्ने । विश्वविद्यालयका प्रोफेसरदेखि विद्यार्थीसम्म सबै साइकलमै । गाडी चालक, पैदल यात्री सबै अनुशासित र सभ्य । रातको समय सुनसान सडकमा पनि कसैले नियम नमिच्ने । वरपर हरिया पहाड, शहरको बीचबाट बग्ने सफा नदी । टोक्यो भन्दा पनि रमाइलोे लाग्यो यामागुची ।

दोस्रो दिन आकियो सिदाई गुफा पुगियो । यामागुची शहरबाट झण्डै ४५ मिनेटमा पुग्न सकिने यो गुफा पहिले फलाम खानी रहेछ । जापानको प्रारम्भिक विकासको चरणमा जति पनि फलाम उत्पादन भयो त्यसको मुख्य स्रोत रहेछ यही गुफा । हजारौं थिए गुफा हेर्न पुगेका, गुफाभित्र बग्ने खोलाले झन रोमाञ्चक अनुभूति भयो ।

होक्काइदो शहर

अर्को आकर्षक गन्तव्य थियो, चुमोसीमा टापु । ४.१ बर्ग किमी क्षेत्रफलको यो टापुमा पुग्न समुन्द्रमाथि १७०० मीटर लामो पुल बनाइएको छ । १७ किमी छिचोलेपछि एक फन्को लगाउन सकिने यो टापु विश्वका उत्कृष्ट गन्तब्यभित्र पर्छ ।

हिरोसिमा पुग्ने योजना पूरा नभएपछि चौथो दिन टोक्यो तर्फ लागियो । सुत्न मिल्ने, शौचालय भएको रात्री बसमा यात्रा गर्दा रेलजस्तै सुविस्ता भयो । अर्को दिन होक्काइदो पुगियो । तीन महिनामात्र हिउँ नपर्ने समुन्द्री किनारमा रहेको यो ठाउँ अत्यधिक चिसो र महंगो रहेछ । नेपालबाट जापान पुग्ने हवाई भाडा भन्दा फकुवकाबाट होक्काइदो पुग्ने भाडा महंगो ।

जापानको राजधानी टोक्यो अती व्यस्त शहर । तर, अनुशासन र समयको पालनामा इमान्दार जापानीले निकै व्यवस्थित बनाएका छन् शहरलाई । टोक्योमा दैनिक लाखौं मानिस रेलको यात्रा गर्छन् । तर, रेल चढ्दा होस वा झर्दा एकले अर्कालाई छोएकोसम्म थाहा भएन । एकमिनेट मात्र रोकिने रेल चढ्दा पनि सबै लाइनमै रहेर चढ्ने–ओर्लने । ठूलो भीडकाबीच पनि हल्ला नहुने । टोक्योमा फोहोर कतै देखिएन ।

सफा यामागुची 

‘डिज्नी ल्याण्ड’ र विश्वको दोस्रो ठूलो टावर ‘स्काई ट्री’ टोक्योका विशेष आकर्षण हुन् । मित्र दिनेशसँग जापानका सबै खाल रेल घुम्दा नयाँ अनुभव भयो ।

जता गयो उस्तै देखिने टोक्योमा बस्दा थुप्रै पटक अलमलमा परें तर, जापानी नागरिकहरुको सभ्य र सहयोगी ब्यवहारले कतै अप्ठ्यारो परेन । साइकल कुदाइरहेेंं ।

 

प्रतिकृया दिनुहोस