संसद् भवन अगाडि धर्ना दिइरहेका २४ जना पक्राउ
सरकारको कदम विरुद्ध नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि धर्ना दिइरहेका २४ अधिकारकर्मी पक्राउ परेका छन् ।
सरकारका कतिपय निर्णय स्वतन्त्रता विरोधी र स्वेच्छाचारी भएको भन्दै मानव अधिकार तथा शान्ति समाजले आज दिउँसो धर्नाको आयोजना गरेको थियो ।
आधारभूत स्वतन्त्रता र मानव अधिकार संरक्षणका लागि धर्नाको आयोजना गरिएको शान्ति समाजले जनाएको छ ।
धर्नाबाट प्रहरीले समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति डा. गंगाधर अधिकारी, सल्लाहकार होमकान्त चौलागाई, संस्थापक सदस्य कृष्ण कँडेल, उपसभापति रेनुका पौडेललगायतलाई पक्राउ गरेको छ ।
त्यस्तै, महासचिव उत्तम पुडासैनी, सचिव बलबहादुर गाहा मगर, कोषाध्यक्ष बटुकृष्ण ढुंगेललगायत २४ जना पक्राउ परेका छन् । उनीहरुलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको छ ।
धर्नामा स्वतन्त्रता विरोधी निर्णय खारेज गर, स्वेच्छाचारी गतिविधि बन्द गर, शिक्षा तथा स्वास्थ्यमा माफिया चलखेल अन्त्य गर लगायतका प्लेकार्ड प्रदर्शन गरिएको थियो ।