आर्थिक वर्षको अन्तिम दिन नेप्से दोहोरो अङ्कले बढ्यो
चालू आर्थिक वर्षको अन्तिम दिन आज शेयर बजार परिसूचक (नेप्से) दोहारो अंकले बढेको छ ।
१२ दशमलव २७ अंकको वृद्धिसँगै नेप्से १ हजार २१२ दशमलव ३६ विन्दुमा पुगेको छ । आर्थिक वर्ष २०७४/७५ भर बजार ३९१ दशमलव ७९ अंकले घटेपनि आज अन्तिम दिन भने बढेको हो ।
आज अन्य उपसमूहबाहेक सबै उपसमूह उकालो लागेका छन् । आज ब्यांकिङ समूह ६ दशमलव ०५ अङ्क, जलविद्युत् समूह ५० दशमलव २३ अङ्क र बीमा समूह १४७ दशमलव ०२ अङ्कले बढेको छ ।
आज रु. ३१ करोड ८५ लाख ८२ हजार ९३८ मूल्य बराबरका ११ लाख ७६ हजार ५९२ कित्ता शेयर बजारमा कारोबार भएको छ ।
यूनाइटेड मोदीका लगानीकर्ताले सबैभन्दा धेरै ७ दशमलव ५० प्रतिशत नाफा गरेका छन् । आज सबैभन्दा धेरै प्राइम लाइफ इन्स्योरेन्सको प्रमोटर शेयर रु. ५ करोड २० लाख बराबरको कारोबार भएको छ ।
मौद्रिक नीतिले ब्यांकिङ प्रणालीको तरलता अभावलाई सम्बोधन गरेपछि लगानीकर्ताको मनोबल बढेको आंकलन गरिएको छ ।
पूर्ण स्वचालित अनलाइन शेयर कारोबार प्रणालीको भोलि, मंगलबार परीक्षण कारोबारको तयारी गरिएपछि पनि लगानीकर्ताहरु हौसिएका हुन् ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले ५० वटै शेयर दलालमार्फत मंगलबारदेखि परीक्षण कारोबार गर्ने तयारी गरेको छ ।