रिपोर्टसोमवार, आषाढ ३२, २०७५

भम्पा राई: अडानका शरणार्थी डाक्टर

गोपाल गडतौला

दुई दशकसम्म शरणार्थीदेखि स्थानीयसम्मलाई निःशुल्क उपचार सेवा दिएका भूटानी शरणार्थी डा. भम्पा राई आफैं थलिंदासम्म पनि स–सम्मान स्वदेश फर्कन पाउनुपर्ने अडानमा छन् ।

बिरामी डाक्टर र उनकी श्रीमती उर्मिला ।

१२ वर्षअघि सन् २००६ मा बाबु आइतराजको शव उठाएर दमक पूर्वको लखनपुरस्थित चिहानघारीतिर लैजाँदा डा. भम्पा राईले करीब एकहजार मलामीका अगाडि भनेका थिए, “आमाबाबु र बहिनीलाई यही शरणागत भूमिमा बिसाएँ, म र मेरी श्रीमती मर्दा पनि तपाईंहरू यसैगरी मलामी आउनुहोला ।”

उमेरले ७० टेकेका डा. राईको स्वर अहिले पूरै मलिन र निराश बनेको छ । सधैं दह्रो आडभरोसा दिने श्रीमती उर्मिला दुवै मिर्गौला बिग्रिएर सातामा दुईपटक डायालिसिस गराउनुुपर्ने अवस्था सहिरहेकी छन् । नेपाल सरकारले गरेको निःशुल्क डायालिसिसको सुविधा भूटानी शरणार्थी भएकोले उनले पाइनन् । आजीवन अरूको उपचार गरेका डा. राई आफैं पनि आन्द्रामा रक्तस्राव हुने समस्याले ग्रस्त छन् ।

ओखतीमुलोको लागि दुवै जना युरोप–अमेरिका पुनर्वास गएका भूटानी र नेपाली समुदायको सहयोगमा निर्भर छन् । डा. राई सहयोग पठाउनेहरूप्रति जति कृतज्ञ छन्, बोली नआउने दिदी फूलमायाका आखिरी दिनहरू कस्ता होलान् भनेर उत्तिकै चिन्तित छन् ।

खुशी बाँड्न र दुःख सुनाउन चाहिने नर–नाताहरू वरपर छैनन् । भाइ बलराजको परिवार अमेरिका पुनर्वास भएको सात वर्ष भइसक्यो । विकसित देशहरूमा पुनर्वास भएका भूटानी, विदेशी शोधकर्ता र स्थानीयहरू भने भेट गर्न आइरहन्छन् ।

भूटानी र नेपाली समाजमा डा. राईले पु¥याएको योगदानको लेखाजोखा गर्न गत साता पनि दुई जना अमेरिकी शोधार्थी पेन्सिलभेनियाबाट दमक आएका थिए । तिनलाई अन्त्यमा क्लान्त डा. राईले भने, “उता गएकाहरूले दुःख पाएको सुन्न नपरोस् !”

डा. भम्पा राई उनको क्लिनिकमा सधैं भूटानको राष्ट्रिय झण्डा हुन्छ (फाइल तस्वीर) ।

गएको दुई दशकमा मैले कैयौं पटक भेटेका भव्य व्यक्तित्व डा. भम्पा राई यसपालि निकै गलेका थिए । गत साता दमक–८ स्थित डेरामा एकघण्टा गपिंmदा उनी पटक–पटक भावुक भए । ‘एक जनाले बोले पनि सत्य अल्पमतमा पर्दैन’ भन्दै औंला उठाउँदा चाहिं उनको स्वर पहिलेकै जस्तो कडा बन्यो । उनी सन् १९९० पछिका वर्षहरूमा भूटानबाट लखेटिएका शरणार्थीहरूको स्वदेश फिर्ती समितिका अध्यक्ष पनि हुन् ।

एक जना भए पनि भूटानी शरणार्थीले ससम्मान मातृभूमि फिर्न पाउनुपर्छ भन्नेमा उनी अडिग छन् । त्यही अडानले उनले तेस्रो देश पुनर्वास अस्वीकार गरे ।

उनले बितेको अढाइ दशकमा नेपाल र भारतका अनगिन्ती अधिकारी, अमेरिका र युरोपका थुप्रै राजदूत, राष्ट्रसंघका शरणार्थी सम्बन्धी अनेक उच्च अधिकारीहरूलाई भेटेर आफूहरूलाई भूटान फर्कने वातावरण बनाइदिन आग्रह गरे । ती निकायहरूलाई विभिन्न सन्दर्भ पारेर सयौं पटक अपील–अनुरोधपत्र पठाए । संचारमाध्यमहरूमा कति विज्ञप्ति पठाए, सम्झेर साध्य छैन । यो सन्दर्भमा पनि उनले तिखो स्वरमा भने, “नसुनुन्, तर सत्य बोलिरहन्छु ।”

भूटानी शरणार्थी फर्काउन नेपाल र भूटानबीच १५ पटक भएको वार्ताको एक–एक विवरण उनलाई थाहा छ । त्यस अनुसार १२ हजार १८३ जनाको प्रमाणीकरण हुँदा ७६ प्रतिशत शरणार्थी फर्किने अवस्था आएको थियो । तर, बीचमै भूटान प्रमाणीकरणबाट पछि हट्यो । पश्चिमाहरूले तेस्रो मुलुकमा पुनर्वासको योजना पनि ल्याए । अनि घर फर्कने सपना साकार हुन सकेन ।

चर्काे निराशाबाट गुज्रिएका भूटानी शरणार्थी समाजमा डा. राई एक अभिभावकको रूपमा उभिए । नेपालकै काठमाडौं, भारतका विभिन्न ठाउँ र एकपटक युरोपमै पनि गएर चिकत्सा कर्म गर्न अनुरोध आउँदा उनले भने दमकमा क्लिनिक खोले ।

उनले झापा र मोरङका स्थानीय बिरामीहरूको पनि सेवा गरे । गरीब, रिक्सा—ठेलावाल, मजदूर भनेपछि जहिल्यै निःशुल्क उपचार गरे, शरणार्थीसँग त लिने कुरै भएन । अहिले उनी आफैं थलिएका छन् र नेपाली जातिको एउटा राम्रो पक्ष पनि उजागर हुँदैछ– २४ वर्षयता दमकमा सक्रिय चिकित्सक भम्पा राईको गुन कसैले बिर्सेका रहेनछन् ।

१९९२ मा दक्षिणी भूटानका ल्होत्साम्पा (नेपाली भाषी) शरणार्थीसँगै सपरिवार पुख्र्यौली देश नेपाल पसेका डा. राईले करीब एक वर्ष झापाको सुरुङ्गामा बिताए । भारत र बंगलादेशमा मेडिकल शिक्षा लिएका उनी राजधानी थिम्पूमा कहलिएका ‘फिजिसियन’ थिए । राजपरिवारका सदस्य र नातेदारहरू उनीसँग जँचाउन आउँथे ।

त्यो बेला आफ्नो ‘मूल’ माथि भएको सरकारी दमनलाई बेवास्ता गरेको भए डा. राई भूटानमा ‘रोयल फिजिसियन’ को सम्मान पाउने लाइनमा थिए । तर, उनले विरोधको बाटो रोजे । त्यो निर्णयले सुख–सुविधा खोसेकोमा उनलाई गर्व छ । “दुःखको कुरा एउटै छ” उनी भन्छन्, “अत्याचार गर्नेहरू सधैं कुर्सीमा छन्, सहनेहरू संसारमा हराउँदैछन् ।”

उमेरसँगै शरीरमा रोगले धावा बोलेको छ, राति निद्रा पर्दैन, परे पनि कम पर्छ । पुनर्वासले शून्य–शून्य बनाएको भूटानी शरणार्थी शिविरले दिउँसो विरक्ति थप्ने काम गर्छ । भेट्न आउनेमध्ये कतिपयले प्वाक्क सोधिदिन्छन्, “तपाईं पुनर्वासमा जानुभएन, भूटानले पनि लग्दैन होला । अब के गर्नुहुन्छ ?”

डा. राई अलि कडा स्वरमा उत्तर दिन्छन्, “भूटान जान्छु, त्यो पनि दक्षिण भूटानको साम्ची बाँडा गाउँमा, जहाँ मेरो घर, खेतबारी र तोदे खोला छ । त्यहाँ जान सकिनँ भने यहीं मेरो चोला उठ्छ, मलामी जुट्छ, बस् ।”

सरकारद्वारा रु. १० लाख सहयोग
सरकारले डा. भम्पा राई र उनकी श्रीमती उर्मिलाको उपचारका लागि रु.१० लाख सहयोग गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि व्यक्तिगत रुपमा रु.१ लाख सहयोग गरेका छन् । दुवै सहयोग रकम ओलीको निजी सचिवालयका उपसचिव युवराज दाहालले २९ असारमा दमक, झापा पुगेर डा. राईलाई हस्तान्तरण गरेका छन् । दमक नगरपालिकाले पनि उनलाई रु.५० हजार सहयोग गरेको छ ।

प्रतिकृया दिनुहोस