विश्वकप विशेषआइतबार, ३१ आषाढ , २०७५

फ्रान्सलाई २० वर्षपछि दोस्रो विश्वकप उपाधि, क्रोएसिया ४–२ ले पराजित

हिमालखबर

काठमाडौं (एजेन्सी)– पहिलो हाफमा मारियो मान्डुज्किचको आत्मघाती गोल र दोस्रो हाफमा केलियन एमबापेको तीब्रतालाई रोक्न नसकेको क्रोएसिया विश्वकपको फाइनलमा फ्रान्ससँग ४–२ गोलले पराजित भएको छ।

तीन स्टार खेलाडी केलियन एमबापे, आन्टन ग्रिजमन र पाउल पोग्बाले गोल गरेपछि फ्रान्सले २० वर्षपछि पुनः विश्वकप उपाधि जितेको हो। फ्रान्सले १९९८ मा आफ्नै देशमा भएको विश्वकप पहिलो पल्ट जितेको थियो।

सन् २००६ मा पनि फ्रान्स फाइनल पुगेको थियो। तर, फाइनलमा इटालीसँग पराजित हुन पुग्यो।

खेल सुरु भएको १८ मिनेटमा मान्डुज्किचको आत्मघाती गोलका कारण फ्रान्सले पहिलो गोलको अग्रता लिएको थियो। आन्टन ग्रिजमनले डिबक्स बाहिरबाट हानेको फ्रिकिक मान्डुज्किचको टाउकोबाट फ्लिक हुँदै आत्मघाती गोलमा परिणत भएको थियो।

यसको १० मिनेटपछि इभान पेरिसिच गोल फर्काउन सफल भएका थिए। उनले २८ मिनेटमा भिडाको पासमा डिबक्स भित्रबाट गोल गरेका थिए। तर, त्यो बराबरी गोल लामो समय टिकेन। ३८ मिनेटमा ग्रिजमनले पेनाल्टीबाट गोल गर्दै पहिलो हाफमा फ्रान्सलाई २–१ को अग्रता दिलाए।

फ्रान्सले पाएको कर्नर किकमा डिबक्स भित्र रहेका पेरिसिचको हातमा बल लागेपछि अर्जेन्टिनी रेफ्रिले ‘भार’ को सहयोगले पेनाल्टीको अवसर प्रदान गरेका थिए।

दोस्रो हाफमा क्रोएसियाले पुनः खेललाई राख्न प्रयत्न नगरेको होइन। तर, आक्रमणलाई तीब्र बनाउदा क्रोएसियाले आफ्नो रक्षापंक्तिलाई खुकुलो पार्यो। जसको फाइदा एमबापेले लिए। विश्वकपको फाइनलमा ब्राजिलका पेलेपछि कम उमेरमा गोल गर्ने दोस्रो खेलाडी बनेका एमबापेले तेस्रो गोलका लागि पाउल पोग्बालाई सहयोग गरेका थिए। म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पोग्बाले ५९ मिनेटमा तेस्रो गोल गरेका थिए।

पोग्बाको विश्वकपमा पहिलो गोल थियो र उनी सन् १९९८ मा फ्रान्सका इमानुअल पेटिटपछि विश्वकपको फाइनलमा गोल गर्ने इङ्लिस प्रिमियर लिगका दोस्रो खेलाडी बन्न पुगेका छन्।

एमबापेले ६३ मिनेटमा हर्नान्डेजको पासमा चौथो गोल गरे र पेलेको कीर्तिमानको समकक्षमा पुगे।

क्रोएसियाले ६९ मिनेटमा दोस्रो गोल फर्काएको थियो। फ्रेन्च गोलकिपर तथा कप्तान ह्युगो लोरेसले डिबक्स भित्र बललाई राम्रोसँग क्लियर गर्न नसक्दा मान्डुज्किचले क्रोएसियाका लागि दोस्रो गोल गरेका थिए।

फाइनलमा फ्रान्सले क्रोएसियाली कप्तान लुका मोड्रिचलाई बाधेर राख्यो। यसअघिको खेलमा राम्रो बल सप्लाई गरेका मोड्रिच त्यति असरदार देखिएनन्।

प्रतिकृया दिनुहोस