विश्वकप विशेषआइतबार, ३१ आषाढ , २०७५

पहिलो हाफमा दूर्भाग्यशाली सावित भएको क्रोएसिया २–१ ले पछाडि

हिमालखबर

काठमाडौं (एजेन्सी)– फ्रान्सले विश्वकपको फाइनलअन्तर्गत पहिलो हाफको खेलमा २–१ गोलको अग्रता बनाएको छ। निकै रोमाञ्चक खेलमा क्रोएसियाले पहिलो गोल आत्मघाती र दोस्रो गोल भारको निर्णयपछि खाएको थियो।

पहिलो १५ मिनेटको खेल आफ्नो पक्षमा राखेको क्रोएसियाले १८ मिनेटमा फ्रान्सले पाएको पहिलो ‘सेट पिस’ मै गोल खान पुगेको थियो। डिबक्स बाहिर पाएको फ्रिकिक आन्टन ग्रिजमनले हानेका थिए। जुन बल क्रोएसियाका अग्ला स्ट्राइकर मारियो मान्डुज्किचको टाउकोमा फ्लिक हुँदै आत्मघाती गोलमा परिणत भएको थियो।

यसको १० मिनेट अर्थात २८ मिनेटमा इभान पेरिसिचको उत्कृष्ट गोलका कारण क्रोएसिया खेलमा फर्किएको थियो। डिबक्स भित्र भिडाले दिएको पासमा पेरिसिचले गोल गरेका थिए। उनको विश्वकपमा तेस्रो गोल थियो।

तर, दोस्रो पल्ट पनि क्रोएसिया अभागी सावित भयो। फ्रान्सले पाएको कर्नर किक डिबक्सभित्र पेरिसिचले हातले छोएपछि रेफ्रिले ‘भार’ को सहयोग लिँदै पेनाल्टीको फैसला सुनाएका थिए। ३८ मिनेटमा पेनाल्टी गोल ग्रिजमनले नै गरेका थिए। उनको विश्वकपमा यो चौथो गोल थियो।

प्रतिकृया दिनुहोस