विश्वकप विशेषआइतबार, ३१ आषाढ , २०७५

एमबापे, ग्रिजमन, मोड्रिच र हजार्डबीच ‘गोल्डेन बल’ को प्रतिस्पर्धा

हिमालखबर

काठमाडौं (एजेन्सी)– आज समापन हुने विश्वकपमा इङ्ल्यान्ड कप्तान ह्यारी केनले ‘गोल्डेन बुट’ पाउने लगभग तय भइसकेको छ। तर, ‘गोल्डेन बल’ मा भने ४ जनाको मुख्य दावेदारी छ। ‘गोल्डेन बल’ पाउने सूचीमा फ्रान्सका दुई आक्रामक मिडफिल्डर केलियान एमबापे र आन्टन ग्रिजमनको नाम अगाडि छ। यस्तै, क्रोएसियाली कप्तान लुका मोड्रिच पनि उपाधिको बलियो दावेदार हुन्।

बेल्जियम कप्तान इडेन हजार्डलाई पनि सम्भावित सूचीमा राखिएको छ। तर, बेल्जियमले फाइनलको यात्रा तय नगरेका कारण हजार्डको सम्भावना केही कम भएको पत्रपत्रिकाले टिप्पणी गरेका छन्। तर, उरुग्वेका पूर्व स्ट्राइकर डिएगो फोर्लानलाई २०१० को विश्वकपमा दक्षिण अमेरिकी टोलीले सेमिफाइनलसम्मको यात्रा तय गर्दा यो उपाधिबाट सम्मान गरिएको थियो। यसैले उनको सम्भावना बलियो रहेको बताइन्छ।

यसपालिको विश्वकपमा हजार्डले राम्रो प्रदर्शन गरेका थिए। उनले ३ गोल गर्नुका साथै गोलका लागि दुई अवसर पनि मिलाएका थिए। उनको कप्तानीमा बेल्जियम तेस्रो भयो।

अर्का खेलाडी क्रोएसियाली कप्तान मोड्रिच उपाधिको बलियो दावेदार मानिन्छन्। उनी तीन खेलमा ‘म्यान अफ दि म्याच’ भएका थिए। क्रोएसियाले प्रतियोगिताको सवै खेल जितेर फाइनलमा ऐतिहासिक उपस्थिति जनाउन उनको प्रदर्शन महत्वपूर्ण मानिन्छ। मोड्रिचले दुई गोल गर्नुका साथै एउटा गोलका लागि अवसर मिलाएका थिए। उनी विश्वकपमा सबैभन्दा बढी खटेर खेल्ने खेलाडी पनि हुन्। ३२ वर्षीय मोड्रिचले डेनमार्कविरूद्ध प्राप्त पेनाल्टी खेर फ्याँकेका थिए। तर, इङ्ल्यान्डविरूद्ध सेमिफाइनलमा उत्कृष्ट खेल प्रदर्शन गर्दै आफ्नो टोलीलाई जित दिलाउन योगदान गरेका थिए।

१९ वर्षको उमेरमा विश्वकपमा तहल्का पिटिरहेका फ्रान्सका एमबापे पनि ‘गोल्डेन बल’ का अर्का लोकप्रिय दावेदार हुन्। अर्जेन्टिनाविरूद्ध २ गोल गरेका एमबापेले जारी विश्वकपमा ३ गोल गरिसकेका छन्। उनी उत्कृष्ट युवा खेलाडीको मनोनयनमा पनि अगाडि छन्।

फ्रान्सकै ग्रिजमन अर्का मजबुत दावेदार हुन्। उनले ३ गोल गर्नुका साथै २ वटा बल गोलका लागि मिलाएका थिए। २०१४ को विश्वकपमा पनि उनले उत्कृष्ट प्रदर्शन गरेका थिए। २०१६ को युरोकपमा उनी उत्कृष्ट खेलाडी घोषित भएका थिए।

प्रतिकृया दिनुहोस